मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विश्रामपुरमा राजनीतिकाे दमन र विकासको बदमासी समेटिएकाे छ ‌: गाैतम

पत्रकार र लेखक पदम गौतमको उपन्यास विश्रामपुर यहि हप्ताबाट बजारमा आउने भएको छ । यसअघि, कविता संग्रहहरु फूलको लाशमाथि र रगतको शयनकक्षमा तथा गजल संग्रहहरु एकलासको फूल र घाम झुल्कनुअघि प्रकाशित गरिसकेका गौतमको यो पहिलो उपन्यास हो । पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो । हाल युरोपमा बसोबास गर्ने गौतमसँग विश्रामपुरका विषयमा मकालु खबरले गरेको कुराकानी–

बजारमा आउँदै गरेको विश्रामपुर उपन्यासमा कस्तो बिषयको उठान गरिएको छ ?
म पहाडमा जन्मिए पनि मोरङ्को त्यो बेलाको दुर्गम गाउँमा हुर्किएँ । हुलाकी राजमार्ग छेउको त्यो देहाती गाउँ केही रहस्यमय र अनकण्टार थियो । त्यहाँ खै कुन सालको चुनावमा पहाडबाट ठाँटका साथ झरेका मुखिया खलकका एक काजीले प्रधानपञ्चको चुनावमा शक्ति प्रयोग गरेरै जितेका रहेछन् । तर, म थोरै थाहा पाउने उमेरमा आइपुग्दा चाहीँ उनले धेरै जनताको मन जितिसकेका थिए । झोडा फाँडेर बसेका पहाडेहरुको नयाँ वस्ती बनेको त्यो ठाउँमा उनी आफू या हामीजस्तै नवआगन्तुकसँग उदार थिए । त्यहाँका पुराना वासिन्दालाई हामीहरुले सोधिरहने एउटा अपमानजनक प्रश्न हुन्थ्यो–तिम्रो परिवार इण्डियाको कुन ठाउँबाट आएको हो ?
बर्मा, असम वा त्यताबाट आएका हरेकले थोरै मेहनतमा नागरिकता लिइसकेका हुन्थे । तर, स्थानीयवासी धेरैसँग निकै पछि पनि नागरिकता थिएन । बिभिन्न जात, धर्म र सम्प्रदायका ती मान्छेहरु पछि बिस्तारै किनारा लाग्दै गए, अल्पमतमा पर्दै गए । उनीहरु समाजमा नूर गिरेको शैलीले प्रस्तुत हुन्थे । यो पुरानो अत्याचारमा ०४६ सालपछि अन्य शोषण र दमनका चलन थपिए । गरीब र त्यहाँका पुराना बासिन्दा सबै पीडितहरुको कथा नै यो उपन्यास हो । उपन्यासमा म पात्रमार्फत् मैले गाउँको कथा सुनाएको छु ।

तपाईँ कविता र गजल धेरै लेख्ने मान्छे यो विषयका लागि चाहिँ उपन्यास विधा किन रोज्नुभयो ?
लामा विषय र कथा समाजलाई र समयलाई सुनाउन कविता पर्याप्त हुँदैन । उपन्यासको क्षितिज फराकिलो हुन्छ । म बिगतमा अखबारमा काम गरे पनि साहित्यमा कविता र गजल मात्र लेख्थेँ । मेरो गाउँका धेरै सत्य र बिषय समाजलाई सुनाउन मैले उपन्यास बिधा छानेको हुँ । अर्को कुरा आम जनताले कविताभन्दा बढी उपन्यास पढ्ने भएका कारण पनि मैले यो बिषयका लागि उपन्यास छान्नुपर्ने भयो ।

कुन बिषय वा पात्रले अभिप्रेरित गर्यो उपन्यासको लागि ?
गाउँको कथा लेख्ने रहर निकै पहिलादेखि थियो । तर, विश्रामपुरमा जुन ढंगले पात्र र प्रस्तुति छानियो त्यसमा चाहीँ केही कारण छन् । माओवादी जनयुद्धमा एकजना होनहार युवा मारिएपछि मैले मधेशका स्थानीयवासीको टोल नै मासिएको देखेँ । मेरो घरको नजिकै भएको यो घटनापछि तिनीहरु कहाँ गए होलान् भन्ने लागिरह्यो । धेरै बर्षपछि थातथलो छाडेर उनीहरुमध्ये केही नदी किनारमा झुपडी बनाएर बसेको थाहा पाएँ । एक जना मेरो बुबाको उमेरका सतार बाजेले भने, ‘तिमीहरुले गरेको विकासले यहाँ जंगल मासियो । पानीका स्रोत र सीमसारहरु सुके । हामी हेर्दाहेर्दै मान्छे देख्दा डराउने भयौं ।’
उनको यो भनाइले मनमा घोचिरहन्थ्यो । त्यही कारणले उपन्यासमा बिम्बात्मक हिसाबले राजनीतिले गरेका दमन र विकासका नामले गरेको बदमासी उजागर गर्न यसरी लेखेँ ।

उपन्यास कति समयमा तयार भयो ?
नेपालमा रहँदैदेखि केही लेख्दै, मेट्दै गरिरहेको थिएँ । विदेश आएर पनि बिभिन्न देशमा रहँदा लेखेँ तर लेखनले गति लिन सकेन । तर कोरोनाकालमा बेरोजगार भएपछि मसँग लेख्नुको विकल्प पनि रहेन । उपन्यासको पहिलो ड्राफ्ट करिब पाँच महिनामा सकेँ । गति नलिए पनि दैनिक थोरै भए पनि लेखिरहेँ त्यो समयमा ।

विदेशमा हुनुहुन्छ तर त्यताको नभै यताकै बिषय किन रोज्नुभयो ?
हो नेपालकै, अझ गाउँकै बिषयले घोचिरहेका कारण त्यही बिषयमा विश्रामपुर लेखेँ, त्यो पनि आञ्चलिकताको स्वाद र भाषा दिने प्रयास गर्दै । पढ्ने पाठक र बिषय नेपालकै भएका कारण त्यही परिवेशमा लेख्नु प¥यो । केही दर्शन या त्यस्तै बिषय समेटेर पश्चिमा परिवेशका पनि लेख्न नसकिने हैन । तर, हामी जति प्रयास गरे पनि यताको सौन्दर्य चेतमा हेलिन सक्दैनौं । यताका कुरा राम्रो लेखिहाले पनि नेपालीमा लेखेर काम छैन, अन्य भाषामा लेख्न सकिँदैन । र, यसपछि पनि मैले चाहीँ नेपालकै अलिक फरक बिषयमा लेख्ने सोच बनाइरहेको छु ।

लेखन वा अरु कुनै हिसाबले विश्रामपुरमा नयाँ प्रयोग गर्नुभएको छ कि ?
त्यस्तो खासै प्रयोग त छैन तर सामान्य भाषा र स्थानीय लवजमा उपन्यास लेखेको छु । महान नायक खडा गरेर त्यसको जीत देखाउनै पर्ने भन्दा फरक सोचले उपन्यासको कथा अघि बढाएको छु । लेखककै हिसाबले भन्दा विश्रामपुरमा पुरानो मधेशको प्रष्ट चित्र दिने र शोषण अनि दमन गरिरहने राजनीतिक षड्यन्त्रलाई उदाङ्गो बनाउने प्रयास गरेको छु ।

नेपाली उपन्यासको स्तर र उठाइने गरेका बिषयमा समग्रमा तपाईंको धारणा के छ ?
मेरो विचारमा हरेक व्यक्ति सहमत हुनपर्छ भन्ने छैन । तर म नेपाली उपन्यासलाई थोरै फरक किसिमले हेर्छु । धेरै उपन्यासमा कि त प्रेम नै प्रेम, कि त राजनीतिका नाममा आग्रही चिन्तन र कोरा सपना, कि त समाजको कमजोर प्रस्तुति नेपाली उपन्यासका कमजोरी हुन् । धेरै चर्चित् उपन्यासमा पनि समय पूरै गायब देखिन्छ । उपन्यासको बिषय अनुसारको समय र समाज ल्याउन नेपाली उपन्यासकारले अलिक लोभ गरेको देख्छु । लेखन प्रस्तुति र मेहनत चाहीँ धेरैको लोभलाग्दो छ, उपन्यासकारहरुलाई सलाम गर्नैपर्छ । पाठक पनि बढेका छन् केही न केही । अब थथार्थ र शोषणका आधुनिक शैली उपन्यासमा आउनुपर्छ भन्ने मलाई लाग्छ । जीवन र समाजसँग नजिकका बिषयबाट उपन्यास पनि टाढा गएको जस्तो भएको छ ।

प्रतिकृयाहरु
Loading...