‘राम्रा दिमाग भएकाहरु ओलीको विरुद्धमा छन्’

काठमाडौँ । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका दाहालले बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चर्‍याली निकालेको टिप्पणी गरेका दाहालले भनेका छन्, ‘हामीले संविधान मिचिएकाविरुद्ध र लोकतन्त्रमा प्रहार भएकाविरुद्ध आन्दोलनमा गरिरहेका छौँ । उहाँ (केपी ओली) ले पञ्चर्‍याली निकाल्दै जमिन बाँड्छौँ भनी मान्छे उतार्ने काम गरिरहनुभएको छ । हिजो राजा–महाराजाको जस्तो गरेर हिँड्नुभएको छ । जसको कुनै अर्थ छैन ।’

यसैबीच दाहालले राम्रा दिमाग भएकाहरु र बुझ्न सक्ने सबै जनता ओलीको विपक्षमा भएको बताएका छन् । ‘आम नेपाली जनता र राम्रो सोच्न सक्ने सबै उहाँ (केपी ओली)को विरुद्धमा छन्’, दाहालले भनेका छन्, ‘नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको उपलब्धिलाई उहाँ (केपी ओली) ले धरापमा पार्नुभएको छ ।’

चुनावको लागि आगामी १७ र २७ बैशाखलाई तय गरिएको छ । ओली नेतृत्वको नेकपाले उक्त मितिमा चुनाव हुने अडान राखिरहँदा दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले भने कुनै पनि हालतमा नहुने दाबी गरिरहेको छ ।

खासगरी गत ५ पुषमा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि राष्ट्रिय राजनीति सडक केन्द्रित भएको छ । राजनीतिक र व्यवहारिक रुपमा विभाजन भएका सत्तासिन नेकपाले अहिले आ–आफ्नै ढङ्गबाट राजनीतिक कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रतिक्रिया