पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरियाे : नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको आरोप लगाएका छन् ।

आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरेको आरोप लगाएका हुन् ।

पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाइ छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट र तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे ।

‘हाम्रो संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको निम्ति हामीले संघर्ष गरेका पनि हौँ,’ उनले भने, ‘तर यस्तो संवेदनशील पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न हामी सबै सम्बन्धित व्यक्ति/निकायहरुलाई अनुरोध गर्न चाहन्छौँ ।’

प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनका लागि निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ । संघर्ष सफल बनाएर संसद पुनःस्थापना गरेरै छााड्ने उनले बताए ।

प्रतिक्रिया