भूकम्पपछि पुनर्निर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।

पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनेर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब ६ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।

प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेकोे एकाइले जनाएको छ । पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउनुहुने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए ।

सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत ८७ करोड रुपैयाँ रहेको पनि आयोजना निर्देशक सिंहले जानकारी दिए।

सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायतका काम पनि सम्पन्न भएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको काम समेत शुरु भइसकेको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रबलीकरणमा समय लागेको हो ।

सिंहदरबारको इतिहास
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए ।

सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला पच्चीस लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।

विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्यत्र सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् । प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ ।

युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन्। चन्द्रशम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य श्रङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।

भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । बेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको छ ।

प्रबलीकरणमा प्रविधि
उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानैस्वरुप नबिग्रने गरी प्रबलीकरण गरिएको छ । प्रबलीकरण गर्दा आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको आयोजना उपप्रमुख विश्वकर्माले बताए ।

प्रबलीकरण प्रविधिमा दुवै भागमा कङ्क्रिट ज्याकेटिङ, केमिकल बोण्डिङ एजेण्ट (एपोक्सी) प्रयोग गरी एङ्करिङ तथा स्ट्रक्चरल स्टील प्रयोग गरी बलियो बनाइएकोे छ । उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरेपछि भवनलाई अत्यधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।

सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरको समेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।

प्रतिक्रिया