तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०७७ को मस्यौदा तयार पारेको छ । आयोगले चुनावमा राजनीतिक दल र उम्मेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको हो।

मस्यौदामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेको भन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने प्रस्ताव गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । यस्तै उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्नेगरी आलोचना गर्न नपाइले उल्लेख छ ।

आचारसंहिताको मस्यौदामा निर्वाचन अधिकृत, अनुगमन टोली, मतदाता अधिकृतले आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलहरुसँगको परामर्शपछि निर्वाचन आचारसंहिता सकभर यो महिनाको दोस्रो साताबाट लागू गर्ने आयोगको तयारी रहेक छ ।

आज दलसँग छलफल
आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दैछ । आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो ।

त्यसको लागि बिहान ११ बजे संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई निर्वाचन आयोगमा बोलाइएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार परामर्शका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

दलहरूको सुझावपछि आचारसंहिताबारे थप निर्णय गर्ने उनको भनाई छ । आयोगले दुई दिनअघि नै दलहरुलाई अध्ययनका लागि मस्यौदाको कपि पठाइसकेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

प्रतिक्रिया