प्रचण्ड बाहिरिएपछि पार्टी सुदृढ भयो : ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि पार्टी सुदृढ बनेको बताएका छन् । शनिबार बुटवलको आमसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

पार्टीमा शुद्धिकरणको आवश्यक्ता रहेको र अहिले त्यही भएको बताउँदै ओलीले भनेका छन्, ‘पार्टी फुटेको होइन, केही साथीहरु बाहिरिएका हुन् । पार्टीमा शुद्धिकरण आवश्यक थियो । यसलाई शुद्धिकरणको रुपमा बुझ्नुपर्छ ।’

यस्तै संसद् विघटन प्रतिगमन नभएको बताउँदै ओलीले प्रश्न गरेका छन्, ‘चुनाव प्रतिगमन हो रे । त्यसो भए जनताको बीचमा जानै हुँदैन । ताजा जनादेशमा जानै हुँदैन भन्ने तपाईँहरुले कस्तो व्यवस्था खोजेको हो ?’

आफूले अतिक्रमित भूमि नेपालमा समेटेदेखि आफूलाई हटाउन केही तत्व लागेको बताउँदै ओलीले भनेका छन्, ‘उहाँहरु सरकार ढाल्न लगातार लाग्नुभयो । बैशाखमा त्यो प्रयास भयो । एकैचोटी प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर आउनुभयो । कसलाई चाहियो भनेर मैले सोधेँ, उहाँहरुले भन्नुभयो । मलाई प्रधानमन्त्री हुन मन लाग्यो । अर्कोचोटी भन्नुभयो । तपाईँ अध्यक्षबाट हट्नुपर्यो । मैले सोधेँ किन ? मलाई आफैँलाई अध्यक्ष हुन मन लाग्यो भनेर भन्नुभयो । मैले नक्सा बनाएँ । त्यसदेखि संविधानको अनुसूचीमा त्यो कुरा राखेँ । त्यसपछि उहाँहरुलाई सह्य भएन । मलाई व्यग्र हट्नुपर्यो भन्नुभयो ।’

प्रतिक्रिया