‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौँ । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने भन्दै सडक ओर्लिएका नागरिक अगुवाहरुले शुक्रबार प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

जननिर्वाचित संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारबाही गर्न नसकेकोलगायतका आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

बसन्तपुरबाट रत्नपार्क हुँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको नागरिक आन्दोलनलाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भनेकी छन्, ‘थोरै मात्रै पनि नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’ यस्तै उनले प्रधानमन्त्री स्वयम्ले नै अपराधीहरुको संरक्षण गरेको पनि बताइन् ।

कानूनविद्हरुले पनि उही आवाज दोहोर्याइरहेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले राजीनामा नदिएको खण्डमा स्वतः कामचलाउ बन्ने तर्क गरिरहेका छन् ।

यता पूर्वसभामुख मदननाथ ढुङ्गानाले भने प्रधानमन्त्रीलाई राष्ट्रपतिले हटाउनुपर्ने बताउँछन् । ढुङ्गानाले मकालु खबरसँग भनेका छन्, ‘राष्ट्रपतिले विज्ञप्ति निकाल्नुपर्यो । पहिलेको कुरा धेरै उल्लेख गरिरहनु परेन । कामचलाउ भयो भनेर भन्दिँदा हुन्छ । असंवैधानिकताको वर्तमान क्रम कहिलेसम्म ? गत ५ पुषको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधि सभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक । प्रधानमन्त्रीको राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ति जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाइ ?’

प्रतिनिधि सभा विघटन भएसँगै ओली प्रधानमन्त्री पदबाट मुक्त भएको मानिने भएकाले राष्ट्रपतिले लिखित रूपमा अहिलेको प्रधानमन्त्रीलाई कामचलाउ भनेर वक्तव्य जारी गर्नुपर्ने ढुङ्गानाको तर्क छ । ‘संविधानको धारा ७७ (ग) मा प्रतिनिधि सभाको सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ । यसैले प्रधानमन्त्री ओली कामचलाउ भनेर भन्नुपर्यो’, ढुङ्गानाले भनेका छन् ।
गत ५ पुषमा प्रधानमन्त्री ओलीले गरेका प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि नेपालको राष्ट्रिय राजनीतिमा भाँडभैलो देखिएको छ । नागरिक समाजदेखि कानूनका ज्ञातासम्मले राजीनामा दिनुपर्ने बताइरहँदा ओलीले भने बहालवालासरहनै काम/कारबाही अगाडि बढाइरहेका छन् । जसमा उनले प्रतिनिधि सभा विघटन गरेपछि नै पनि आफू नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रतिक्रिया