दाहाल, भट्टराई र पौडेल एउटै मञ्चमा उभिँदै

काठमाडौँ । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबार एउटै मञ्चमा देखिने भएका छन् ।
जनयुद्ध दिवसको अवसर पारेर नेता भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक लोकार्पण कार्यक्रममा यी तीन नेताहरुले मञ्च साझेदारी गर्ने भएका हुन् । साथमा कार्यक्रममा अन्य वक्ताहरुको रुपमा जसपा नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तोलगायतलाई बोलाइएको छ ।
बालुवाटारको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेता भट्टराईको पुस्तक लोकार्पणसँगै समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको नेतृत्व गरेका नेता भट्टराईले माओवादी छोडेर नयाँ शक्ति गठन गरेका थिए । त्यसपछि अहिले उनी समाजवादी पार्टीमा छन् । जहाँ, उनी नेतृत्वमै छन् । दाहाल र भट्टराई पूर्वसहयात्री भएपनि एउटै मञ्चमा कमै नदेखिएको यो मञ्च साझेदारीलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यस्तै यता नेता पौडेलको उपस्थितिलाई पनि चासोका साथ हेरिएको छ ।
यसअघि पनि यी तीन दल संसद् विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने निर्णयनजिक पुगेका थिए । तर, अन्तिममा आएर त्यसो हुन सकेको थिएन ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि नेपाली राजनीतिमा ओली एक्लिएकाजस्ता देखिएका छन् भने यता सदनमा प्रतिनिधित्व गर्ने सबै दलसँगै अन्य साना दलहरु पनि विघटनविरुद्ध छन् ।
संसद् विघटनविरुद्ध दाहाल–भट्टराई एक
प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध नेताद्वय दाहाल र भट्टराई एकमुख हुँदै आएका छन् । विभिन्न राजनीतिक परिघटनका कारण फरक दलमा आबद्ध हुन पुगेका दाहाल– भट्टराई पछिल्लो पटक चालेको ओलीको कदमविरुद्ध भने एक भएका छन् ।
त्यस क्रममा उनीहरुबीच केही दिनयता भेटघाटसमेत भइरहेको छ । केही दिन पहिले मात्रै उनीहरुबीच उपराष्ट्रपति कार्यालयमा भेटवार्ता भएको थियो ।
यहीबीचमा दुवै पूर्वमाओवादीका शीर्ष नेताहरु एउटै मञ्चमा देखिनु र जनयुद्धसँगै सम्बन्धित पुस्तक विमोचन हुनुलाई नेताहरुले चासोका साथ हेरेका छन् ।








