सरकारविरुद्ध विप्लव, वैद्य, कट्टेल र आहुतिको मोर्चाबन्दी

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले संघर्षका कार्यक्रम घोषणा गर्दैछन् । चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो ।

यी चार पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका थिए । त्यसको औपचारिक घोषणा आज मध्यान्न १२ बजेपछि प्रज्ञा भवन कमलादीमा गरिँदैछ । अहिलेको सरकारविरुद्ध आवाज उठाउनको लागि मोर्चा बनाएको आहुतिले बताएका छन् । यी दलले वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै आएका छन् ।

गत पुष १४ गते संयुक्त विज्ञप्तिमार्फत ‘निरंकुश राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीबीच रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जानकारी दिएका थिए ।‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।

प्रतिक्रिया