अमेरिकाद्वारा म्यान्मारकाे सैनिक नेतृत्वमाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडनले सैनिक नेतामाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।
कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।
मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।
नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ ।
तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् ।
बाइडनले के माग गरेका छन् ?
अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।
आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, ‘म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ ।’ पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन् ।
यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ । –बीबीसी








