बिराेध सभामा जनार्दनको अलि बेग्लै भाषण

काठमाडाैँ । नेकपाको दाहाल नेपाल पक्षले बुधबार काठमाडौँमा गरेको विरोध सभामा सबै बक्ताले प्रधानमन्त्री केपी शर्मा ओली र संसद विघटन गर्ने उनको कदमको बिरोध गरे । आ आफ्नै शैली र पारामा ।

१४ जना बक्ता तोकिएको सभाका सबै बक्ता झैँ नेता जनार्दन शर्माले पनि तोकिएको छोटो समयमा आफ्ना धारणा राखे ।  यस क्रममा उनले पनि ओलीको कदमको विरोध त गरे नै । सँगै, केही गम्भिर सवाल पनि उठाए ।

‘केपी ओलीको कदमको विरोध त गर्नैैैपर्छ तर यत्तिले मात्र पुग्दैन, केपी ओली प्रबृत्ति निर्माणमा के कुराले प्रोत्साहन गरेको छ भन्ने कुरा पर्गेल्नुपर्छ ।’ उनकाे तर्क छ ।

‘सिमित राजनीतिक दलका सिमित नेतालाई भएको असिमित अधिकारका कारण आजको अवस्था आएको हो’ शर्माले निष्कर्ष सुनाए । पद र शक्तिको असिमित केन्द्रिकरणका कारण शासकहरुमा आफु सर्वैसर्वा हुँ भन्ने अहम् बढ्दै जाने र मैले बोलेको कुरामा कसले प्रश्न उठाउने ? भन्नेबाट शुरु हुने अहम ‘म नै राज्य हुँ ।’ ‘मैले जे बोल्छु त्यो कानून हो’ भन्ने तहसम्म उक्लिन पुग्ने गरेका थुप्रो उदाहरण विश्वमा देखिएका छन् ।

यसैकारण विश्वका लोकतान्त्रिक देशमा तानाशाह वा ब्यक्तिबादी प्रवृत्तिलाई निरुत्साहित गर्न चेक एण्ड ब्यालेन्सको प्रणाली स्थापित हुन्छ । संसद, संसदीय समितिहरु, सर्वोच्च अदालत लगायत विभिन्न संवैधानिक निकायमा बनेको दर्विलो प्रणालीले तानाशाहका कुनै पनि कुचेष्टाहरुलाई सफल हुन दिंदैन । तर हाम्रोमा त प्रणाली भनेपनि विधी वा थिती भनेपनि शासकको सनक र उसको स्वार्थको माखेसाङ्लोमा बेरिन पुगेको छ । त्यसैले उनीहरुमा आलोचना सुन्ने धैर्य होइन गुणगान सुन्ने समय मात्र हुन्छ ।

ओलीले संसद विघटन गर्ने साहस गर्नुमा उनलाई बेलैमा लगाम लगाउन नसक्नु मूख्य कारक भएको शर्माको ठम्याइ छ ।बुधबारको सभामा नेता शर्माले राजनीतिक दल र सरकार सञ्चालनको प्रणालीलाई पुनर्सरचना गर्नुपर्ने बेला आएको पनि बताए ।
उनले ‘यसो हुनुमा सबैले दोषको भाग लिनुपर्ने र आफुपनि त्यसका लागि तयार रहेको भन्दै उनले गल्ति स्वीकारे ।
‘केपीलाई गाली मात्र नगरि उनको यो चरित्र पैदा हुनुका पछि को को जिम्मेवार छौँ त्यसको ग्राउण्ड कसरि बन्यो भन्ने खोजौँ र यसको जिम्मा लिउँ । म पनि जिम्मेवारी लिन तयार छु । नत्र फेरि महेन्द्र जन्मिन सक्छन् । यसलाई ख्याल गरौँ ।’

शर्माले अब प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई लोकतन्त्रको प्रणालीभित्र राख्ने र निगरानी गर्ने संरचना आवश्यक रहेकोमा जोड दिए । शक्तिमा रहेका ब्यक्तिले मनमौजी गर्न पाउने ब्यवस्था हटाएर लोकतन्त्रको प्रणाली बलियो बनाउने र त्यसैभित्र सबैलाई समेट्ने ब्यवस्था गर्नुपर्ने उनले बताए ।

राज्यका सबै संरचनामा लोकतान्त्रिकरण नहुँदा यो समस्या आएको उनले बताए । जनताका आवाज नसुन्ने र उनीहरुका समस्या समाधा नगर्ने परम्परागत सँरचना भत्काउन नसकेसम्म यो क्रम यो वा त्यो रुपमा आइरहन सक्ने खतरा शर्माले औँल्याए ।

अब देशमा आएको परिवर्तनमा सहभागि भएका राजनीतिक दलबाहेकका सबै शक्तिहरु एक हुनुपर्ने र सरकारलाई नागरिक समाज, प्रेस, बुद्धिजिवी लगायतको निगरानी र बलियो प्रणालीभित्र राख्नुपर्ने शर्माले बताए ।

यसका लागि दलालको बिचमा नभइ जनताको बिचमा हुर्कने नेतृत्व र पार्टी आवश्यक रहेको नेता शर्माको भनाइ छ । ‘आज पार्टी दलालहरुले घेरामा रहेको अवस्था छ शर्माले भने, सभाका लागि आएका हजारौँ नागरिकतिर देखाउँदै उनले भने दलालले होइन यी यसरि नागरिकको घेरामा रहने पार्टी र नेतृत्व अबको आवश्यकता हो ।’

हुन त भाषणमा भनिएका धेरै कुरा पुरा हुँदैनन् । जहाँ गयो त्यहि अनुसारको भाषण गरिदिने नेताहरुको पारा अनि आफैँले बोलेको कुराप्रति नि जिम्मेवारीबोध न जवाफदेहीता केही नहुने राजनीतिक दलका नेताहरुको नानीदेखिको बानीका बिच कसले के बोल्यो भन्ने कुराको ठुलो अर्थ नहोला ।

तर, बुधबारको सभामा जनार्दन शर्माले उठाएका यी कुराहरु चाहिँ मननीय मात्र होइन दलहरुले छलफल थालिहाल्नुपर्ने गरिका महत्वपूर्ण पनि हुन् ।

प्रतिक्रिया