महालक्ष्मीले ल्यायो ‘महालक्ष्मी धनधान्य’ पोलिसी

काठमाडौँ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ । ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो ।

व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैँमा ठूलो चुनौती अवस्था छ । अर्कोतर्फ, कोभिड–१९ को कारण लामो समय भोग्नुपरेको सामाजिक तथा आर्थिक कठिनाइले गर्दा समग्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्‍यो । तर, त्यस्तो प्रतिकूल परिस्थितिको बाबजुद कम्पनीले दुई वर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना गर्दै १६ हजार १९० अभिकर्तालाई तालिम प्रदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बताउँछन् ।

यस अवधिमा कम्पनीले नौवटा बिमालेख सार्वजनिक गरिसकेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ६५ करोड रुपैयाँ बिमा शुल्क संकलन र दुई अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको सीईओ भट्टराईले बताए ।

कम्पनी स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्यअनुसार शाखा सञ्जाल विस्तार, निरन्तर अभिकर्ता तालिम सञ्चालन र व्यवसाय वृद्धि गर्न नसकेको उनको भनाइ छ । यद्यपि, कम्पनीले आर्थिक वर्ष ०७५/७६ को पोलिसी बोनस न्यूनतम ५० रुपैयाँ ल्याउन सफल हुनु आफैँमा ठूलो सफलता भएको र यो नयाँ-नयाँ कम्पनीहरूमध्येमा उत्कृष्ट भएको उनको दाबी छ ।

नेपालमा बिमा कारोबारप्रतिको आममानिसको विश्वास वृद्धि गर्न कम्पनीले ग्रामीण क्षेत्रमा बिमाको पहुँच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यावसायिक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बिमा पुर्‍याउने लक्ष्य लिएको उनले बताए ।

कम्पनीले दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ मनि ब्याक बिमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिसी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को वासलात र नाफा–नोक्सान हिसाब बिमा समितिबाट स्वीकृतीसँगै ६० करोडको साधारण सेयर जारी गर्ने गरी प्रक्रिया सुरू गरेको उनले बताए ।

बिमा शिक्षाको कमी र अस्वस्थ्य प्रतिस्पर्धा मुख्य चुनौती रहेको भट्टराई बताउँछन् । बिमा समितिले २३ प्रतिशत बिमा पहुँच पुगेको बताए पनि डुप्लिकेसन र ल्याप्स पोलिसीलाई घटाउने हो भने करिब १७/१८ प्रतिशत मात्रै पहुँच रहेकोले बिमा विस्तारको पर्याप्त दायरा नै बिमाको अवसर रहेको उनको बुभाइ छ ।

प्रतिक्रिया