रोगबाट बचाउन धानको बीउमै उपचार

  • ध्रुवराज खनाल

चितवन । चैते धान रोप्नका लागि कतिपय किसान बीउ राख्ने तयारीमा जुटेका छन् । कतिपयले राखिसकेका पनि छन् । बीउ राख्दादेखि नै सावधानी नपाउँदा धानमा रोगले आक्रमण गर्ने गर्दछ ।

संभावित रोगको संक्रमणबाट जोगाउन खैरहनी नगरपालिकाको कृषि शाखाले गाउँ-गाउँमा पुगेर किसानहरुलाई धानको बीउ राख्ने तरिकाबारे प्रशिक्षित गराएको छ । किसानहरुले सामना गर्दै आएको ‘नेक ब्लास्ट’ नामक रोग बीउ राख्दाको अवस्थादेखि नै सावधानी नपनाउँदा लाग्ने विज्ञहरु बताउँछन् । यसैलाई मध्यनजर गर्दै नगरपालिकाले यहाँका किसानहरुलाई धानको बीउ उपचार तालिम दिएको हो ।

खैरहनी नगरपालिका र रामपुर क्याम्पस खैरहनीको सयुक्त आयोजनामा नगरको १३ वटै वडामा यो तालिम दिएको कृषि शाखा प्रमुख दिपेन्द्र अर्यालले बताए । उनका अनुसार नुनपानीको प्रयोगबाट गुणस्तरीय बीउ छनौट गर्ने तरिका र रासायनिक विषादी (बेभिष्टिन) को प्रयोगबाट बीउको उपचारबारे जानकारी गराईएको थियो । खैरहनी नगरपालिकामा अघिल्लो वर्ष ढुसीजन्य रोगबाट उत्पादनमा क्षती भएको थियो ।यस वर्ष त्यस्तो अवस्था नदोहोर्याउन र कृषकहरुलाई उपचार गरिएको सुरक्षित बीउ प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले तालिम दिईएको कृषि शाखा प्रमुख अर्यालले बताए । खैरहनीले ५० प्रतिशत अनुदानमा धानको बीउ समेत वितरण गरेको छ । रामपुर क्याम्पस खैरहनीका प्रमुख मिलन सुवेदीले यो किसिमको तालिमले विद्यार्थीहरुलाई कृषि प्रसारमा प्रत्यक्ष सहभागी गराई क्षमता अभिवृद्धीमा सहयोग पुग्नुका साथै कृषकहरुलाई स्थानीय श्रोत साधनको प्रयोग गरेर सस्तो मुल्यमा बीउ उपचार र गुणस्तरीय बीउको छनौट गर्ने प्राविधिक ज्ञान हासिल भएको बताए ।

डाक्टर विष्णु विलास अधिकारी,क्याम्पस प्रमुख सुवेदी, कृषि अधिकृत माधव पौडेल, कृषि शाखा प्रमुख अर्याल, प्राविधिक सहायक धु्रव आचार्य, यमप्रसाद अधिकारी लगायत रामपुर क्याम्पसका विद्यार्थीहरुको उपस्थितिमा तालिम दिईएको थियो । सो तालिमबाट नगरपालिकाका करिव ४ सय भन्दा वढि कृषकहरु प्रत्यक्ष लाभान्वित भएका छन् । खैरहनी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत धान जोन कार्यक्रम समेत लागु भएको छ । विषेशत यस नगरपालिकाको कठार र कुमरोज धान उत्पादनमा अव्वल छ ।

कृषिको विद्यार्थी समेत रहेका खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बीउ राख्ने अवस्थादेखिनै सावधानी अपनाउन सके संभावित रोगको संक्रमणबाट बचाउन सकिने बताए । बिना जानकारी बीउ राख्ने चलन छ प्रमुख चौधरीले भने- बीउको उपचार गरेर राख्दा रोगबाट हुने क्षती धेरै हद सम्म न्युनिकरण हुन्छ । खैरहनी लगायत अन्य पालिकाका किसानहरु धानमा लाग्ने नेकब्लास्ट,ढुसी, गवारो आदि रोगबाट हैरानी खेप्दै आएका छन् ।

प्रतिक्रिया