दुर्घटनाहरुमा पाँचजनाको मृत्यु

काठमाडौँ । विभिन्न ठाउँमा भएका दुर्घटनामा पाँचजनाको ज्यान गएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीस्थित चौवाखोलामा सोमबार राति लु. ५६ प ९८१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री तुलसीपुर १९ का ७५ वर्षीय दिलबहादुर बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तुलसीपुर लैजाने क्रममा बाटोमै ज्यान गएको हो । चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको गौरीगंज गाउँपालिका ९ बढिधापमा को.१३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका ९ बैगुनधुराका पुरुषोत्तम फुँयालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शंकरनगरस्थित सडकमा लु ३० प ८५६९ नम्बरको स्कुटरलाई नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका ८ की पुजा गहतराजको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका २ अरनिको बस्तीमा से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी पोदेजोम तामाङ ज्यान गएको छ । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, चितवनको रत्ननगर नगरपालिका ९ मा ना ५ ख ५६७९ नम्बरको ट्रक र ना ६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति ठोक्किँदा मोटरसाइकलमा रहेका धादिङका दुर्गा मगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका ३ का प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया