रोल्पाबाट कुरुस काँटा चलाउन सिकाउँदै प्रतिभा

काठमाडौँ । ‘यत्रो पढेर पनि के बुन्ने काममा अल्मलिएको होला ?’ उनले धेरै सुन्नु परेको प्रश्न हो याे । घर परिवारदेखि नातागोता, साथी सङ्गति र उनको भलो चिताउने सबैले धेरैपटक यसो भनेर उनलाई राम्रो काम गर्न घुमाउरो किसिमले दबाब दिए, दिइरहेकै छन् ।

सबैतिरबाट सधैँजस्तो एकै किसिमका दबाबमूलक सुझाव आएपछि उनलाई यसको प्रभाव नपर्ने कुरै भएन । प्रभाव पर्न त पर्यो, तर उल्टो । ‘इन्भर्स इफेक्ट’ भनेजस्तो । पढे-लेखेर पनि के बुन्ने काममै सिमित भइरहेको होला भन्ने कुराले उनको दिमागमा चाहिँ के पढे-लेखेका मानिसले चाहिँ यो काम गर्न नहुने हो र ? भन्ने भावलाई थप बलियो बनाइदियो ।

उनी अर्थात् प्रतिभा श्रेष्ठ बुन्ने काममा थप सक्रिय भइन् । जतिसुकै बेला पनि हातमा कुरुस वा काँटी चलाइरहन थालिन् । ‘कतै बैठकमा वा तालिममा जाँदा पनि शुरु नहुँदासम्म मेरो हात खाली हुँदैन, केही न केही बुनिरहेकै हुन्छु’ उनी भन्छिन्, ‘हात सक्सकाइहाल्छ, बुन्न थाल्छु अनि बल्ल आनन्द हुन्छ ।’

बुनाइमा धेरै लागेपछि कुनै दिन टाउको दुख्दा पनि धेरै बुनेर दुखेको भनेर उनलाई घरमै दबाबमूलक व्यंग्य गरिन्थ्याे । ‘तर मैले टेरे पो’, हाँस्दै प्रतिभा सुनाउँछिन्, ‘अहिले त हार खाएर बुबा, दिदीहरुले आफैँ सामान ल्याइदिनुहुन्छ ।’

प्रतिभा रोल्पामा बस्छिन्, जहाँ उनी धागोबाट स्वेटर, मोजा, पञ्जालगायतका सामान तयार पारेर बेचिरहेकी छन् । सँगै उनी बुन्ने तरिका पनि सिकाइरहेकी छन् । र, सहयोग गरिरहेको छ यूट्युब च्यानलले । उनले प्रतिभा ह्याण्ड मेड क्रिएसन भन्ने यूट्युब च्यानल चलाइरहेकी छन् । बुनाइप्रतिको आफ्नो लगन देखेर दिदीले सल्लाह दिएको र त्यसैअनुसार आफूले यूट्युब च्यानल शुरु गरेको प्रतिभा बताउँछिन् ।

प्रशिक्षक बन्ने चाहना 

‘सबैभन्दा धेरै त म बुनाइको प्रशिक्षक बन्न चाहन्छु’, मकालु खबरसँग प्रतिभाले भनिन्,‘यसका लागि आफूले पनि सिक्दै जाने र सिकाउँदै जाने योजना छ ।’ अहिलेसम्म आमा, काकी, फुपुहरुबाटै सिकेको सिपलाई थप ब्यवस्थित बनाएकी उनले अब भने आधिकारिक निकायबाट थप तालिम लिएर अरु धेरैजनालाई यो सिप सिकाउने लक्ष्य रहेको बताइन् । ‘मैले सिकेको कुरा धेरैभन्दा धेरै मानिससम्म पुर्याउन चाहन्छु,’ प्रतिभा भन्छिन् ।

प्रतिभा बोतल लगायतका सामानबाट सजावटका सामान पनि बनाउँछिन् । यूट्युब च्यानलमा उनी यो सिप पनि सिकाइरहेकी छन् ।

विस्तारै यूट्युब च्यानल हेर्ने र त्यसबाट धेरै कुरा सिकेँ भन्ने प्रतिक्रिया आउन थालेको उनले बताइन् । साथै उनकाे च्यानल मोनिटाइज पनि भएको छ अहिले ।

आमा र काकीबाट सिकेको सिप थप परिस्कृत गर्दै उनी यसलाई धेरै मानिसहरुसम्म पुर्याउन चाहन्छिन्, त्यसका लागि आफू पनि तालिम लिने र अरुलाई पनि सिकाउने ध्याउन्नमा छिन् प्रतिभा ।

रोल्पामा महिला सहयात्रा लघुवित्तले महिलाका लागि दिएको पाँचदिने तालिममा उनले प्रशिक्षक बनेर तालिम दिइन् । ‘त्यो अनुभव राम्रो भयो, तर म यसलाई थप बढाउन चाहन्छु’, उनी भन्छिन् । यसका लागि काठमाडौँमा पनि यस्ता तालिम केन्द्रहरु छन् कि भनेर खोजी गरिरहेको पनि उनले बताइन् ।

रेडियोमा बोल्न छोडेर बुनाइ
प्रतिभाले रेडियो रोल्पामा केही बर्ष काम गरिन् । जहाँ उनी समाचार वाचनदेखि कार्यक्रम सञ्चालनसम्म गर्थिन् । तर, उनीभित्र घर गरिसकेको बुनाइको लत र प्रशिक्षक बन्ने चाहनाका सामु रेडियोको ‘जागिर’ ठुलो भएन । उनले रेडियो छोडिन् र बुनाइलाई थप समय दिइन् । ‘रेडियोमा काम गर्दापनि म बुन्ने काम त गर्थेँ नै, तर रेडियोमा धेरै समय दिँदा यता खासै काम गर्न सकिएन । त्यहि भएर अहिले रेडियो छोडेरै यो काममा लागेको छु’, प्रतिभा भन्छिन् ।

बार्षिक लाखकाे कारोबार 

सामान बुन्ने र फेसबूकमार्फत् बिक्री गर्ने क्रम चलेको केही बर्ष भएपनि अहिले बल्ल यसकाे व्यापार बढेको छ । ‘गएको एक बर्षमा १ लाख जतिको कारोबार भयो होला’, उनी भन्छिन् । यसमा नाफा कति भयो त ? उनी भन्छिन्, ‘ठ्याक्कै हिसाब त गरेको छैन, तर यसमा धागो धेरै महँगो हुँदैन, बाँकी आफ्नो मेहनतको पैसा हो ।’

 

 

प्रतिक्रिया