सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा सडक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

गाेरखाकाे गोरखा नगरपालिका-८ ढुकुरेखोलास्थित सडकमा ग १ ज ७४४७ नम्बरको ट्याक्सीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- ८ ढुङ्गाडे बस्ने ५८ वर्षीया निरमाया थापाको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लागि जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै प्युठानकाे सरूमारानी गाउँपालिका- ६ मोतिपुरस्थित सडकमा रा १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । गाडीमा सवार अर्घाखाँची सितगंगा नगरपालिका-८ सातमारा बस्ने ४२ वर्षीय टंक बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएका अन्य १० जनालाई जिल्ला अस्पताल बिजुवारतर्फ पठाइएको प्रहरीले जनाएकाे छ ।

यसैगरी झापाकाे मेचीनगर नगरपालिका-६ बसपार्कमा को १ ख ६१६३ नम्बरको बसबाट लडेर सोही बसका सहचालक भोजपुर हतुवागढी गाउँपालिका-१ बस्ने २४ वर्षीय सन्तोष खुलालको शुक्रबार बिहान मृत्यु भएको छ ।

लडेर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया