टेलिकमल ल्यायो मोबाइलमै चलाउन मिल्ने ब्रोडब्यान्ड इन्टरनेट सेवा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको १७ औं वार्षिक उत्वसको अवसरमा बिहीबारदेखि देशभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधासहितको ‘फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवा सञ्चालनमा ल्याएको छ । एफटीटीएच, तारवाला टेलिफोन तथा वाइफाइको पहुँच बाहिर रहेको टर मोबाइलमा वायरलेस डाटा अत्यधिक चलाउने स्थानका ग्राहकलाई लक्षित गर्दै टेलिकमले यस्तो सुविधा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
उनका अनुसार यो सेवाअन्तर्गत ग्राहकले प्रतिमहिना ९ सय रुपैयाँमा ६० जिबी र १ हजार ५ सय रुपैयाँमा १२० जिबी टाटा चलाउन पाउने छन् । त्यस्तै, वार्षिक रुपमा ९ हजार ६ सय रुपैयाँमा ७२० जिबी र १६ हजारमा १ हजार ४४० जिबी डाटा चलाउन पाउने छन् ।
त्यस्तै, मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवा समेत सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले व्यवसायिक उपकरणहरु बीच डाटा आदानप्रदान गरी सवारी साधनलगायत अन्य उपकरणको ‘लोकेशन अपडेट’ गर्ने, ‘लजिस्टिक म्यानेजमेन्ट’ गर्ने जस्ता काम गर्न सकिने कम्पनीले जनाएको छ । विश्वव्यापी प्रचलमा रहेको मेसिन टु मेसिन डाटा र एसएमएस सेवाबाट संस्थागत तथा कार्यालयीय ग्राहक लाभान्वित हुने उनले बताए ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा टेलिकमले २०७७ पुससम्ममा सर्वाधिक शुल्क बुझाउने ५ वर्गका ग्राहक १/१ जना गरी ५ जनालाई कदरपत्र सहित २० एमबीपीएस वा ५ एमबीपीएस एडिएसएल इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।
लक्ष्य पूरा गर्ने डिलर मध्ये ८ जनालाई एक वर्षसम्म मासिक रू. १ हजार ४ सय ९९ रूपैयाँकाे पाेष्टपेड डाटा प्याक उपलब्ध गराउने जनाएकाे छ ।
त्यस्तै, टेलिकमको रिङब्याक टोनमा आवाज दिने कलाकार अनिता बिन्दु, अनुपमा कर्माचार्य र भूमिका थापालाई पनि कदरपत्र सहित सो इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।
याे पनि पढ्नुहाेस्– टेलिकमको १७ वर्ष : राज्यलाई वार्षिक ३५ अर्ब याेगदान, २ करोडभन्दा बढी ग्राहक









