बन्द हड्ताल रोकी अर्थतन्त्रलाई गति दिन ३ व्यसायिक संगठनको आग्रह

काठमाडौं । बन्द हड्ताल जस्ता राजनीतिक गतिविधिलाई रोकेर अर्थतन्त्रको विकासलाई गति दिन उद्योगी व्यवसायीका ३ ओटा संगठनले संयुक्त रुपमा आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बन्द हड्तालमा उत्रिएका राजनीतिक दलसँग यस्तो आग्रह गरेका हुन् ।
काेभिड–१९ को महामारीले झण्डै १ वर्ष थलिएको अर्थतन्त्रले बल्ल गति तथा लय पाउने आशा गरिएको यो बला हड्तालमा उत्रिँदा अर्थतन्त्र झनै धराशयी हुँदै जाने उनीहरुको चिन्ता छ ।
तीनै संगठनद्वारी जारी गरिएको संयुक्त अपिलमा भनिएको छ– ‘चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित छ । विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई वन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिनेछ ।’
संयुक्त अपिलमार्फत उनीहरुले यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर रहेको बताएका छन् ।
‘बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढि असर पर्नेतर्पm राजनीतिक दलको ध्यानाकर्षण गराउन चाहन्छौं,’ अपिलमा भनिएको छ, ‘साथै नयाँ संविधान निर्माण पश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखि बन्द, हडताल, चक्काजाम लगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिवद्धतालाई पनि हामी यहा स्मरण गराउन चाहन्छौँ ।’








