निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाँदैछ । सो समूहका नेताहरु आफू आधिकारिक ‘नेकपा’ भएको दावी गर्न पत्रसहित निर्वाचन आयोग जान लागेका हुन् ।

यसअघि सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले आधिकारिकताको दावी गर्ने निर्णय गरेको थियो । अहिले पनि पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको उपस्थितिमा अनौपचारिक छलफल भइरहेको नेता सुरेन्द्र पाण्डेले मकालु खबरलाई जानकारी दिए । ‘अहिले अध्यक्षद्वयसहित साथीहरु मिटिङमा हुनुहुन्छ,’ उनले भने, ‘केही बरेमा अन्तिम टुंगो लाग्छ ।’ सम्भवतः आजै आयोग जाने उनको भनाइ छ ।

नेता लीलामणि पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु आयोग जाने तयारी छ । सो समूहको सोमबारको बैठकले दल आधिकारिकताको दावी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद अब निर्णायक निरुपणतिर अग्रसर भएको बताइन्छ ।

प्रतिक्रिया