‘बागमती प्रदेशका सभामुखमा सरकारको छाया पर्‍यो’

  • धनबल राई

काठमाडौं । बागमती प्रदेशकी प्रदेश इन्चार्ज तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाकी नेतृ (केन्द्रीय सदस्य) अष्टलक्ष्मी शाक्यले बामगती प्रदेशका सभामुखलाई सरकारको छाया परेको टिप्पणी गरेकी छन् ।

सोमबार मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै नेतृ शाक्यले सभामुख सानुकुमार श्रेष्ठमाथि सरकारको छाया परेको टिप्पणी गरेकी हुन् । ‘उहाँ (सभामुख श्रेष्ठ) ले बैठक डाक्नुभयो’, नेतृ शाक्यले भनेकी छन्, ‘अनि फेरि कसको आदेश र दबाबमा बैठक स्थगित भयो ?’

कार्य व्यवस्था समितिको बैठक बसेर थप सर–सल्लाह गर्नुपर्ने संसदीय अभ्यास रहेको बताउँदै नेतृ शाक्यले भनेकी छन्, ‘एक दुईजनाको सल्लाहमा सबै गर्ने हो भने अरुको के मान्यता रह्यो र ? सभामुख अन्यत्यै सरकारको छायामा पर्नुभयो ।’ सभामुख पार्टीभन्दा पनि माथि भएको बताउँदै नेतृ शाक्यले सभामुख आफ्नो स्वेच्छाचारी ढंगले चल्न नहुने तर्क गरिन् । ‘सभामुखले त संयोजनकारी भूमिका खेल्नुपर्ने हो । नेताहरुलाई सम्झाएर अगाडि बढ्नुपर्ने हो । तर, उहाँ निष्पक्ष देखिनुभएन’, नेतृ शाक्यले भनिन्, ‘उहाँले सभामुखको गरिमालाई सिद्ध्याउनुभयो ।’

यस्तै नेतृ शाक्यले सभामुखले आफूहरुलाई भेट्न नमानेको पनि बताइन् । ‘उहाँले कुरा गर्न मान्नुभएन’, नेतृ शाक्यले भनेकी छन्, ‘हामी उहाँ बसेकै निवासमा पुग्यौँ । तर, उहाँ भेटिनुभएन । फोन गर्दा पनि उठाउनुभएन ।’

५ फागुनसम्म बैठक स्थगित
सोमबारका लागि डाकिएको बैठक ५ फागुनसम्मको लागि स्थगित गरिएको छ ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै विशेष कारणले बैठक सरेको जानकारी गराएका थिए । प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

यसअघि गत ९ माघमा बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो ।

प्रतिक्रिया