‘केपी ओलीलाई पार्टीबाटै निष्कासन, विष्णु पौडेलको पद खोसियो’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ । सोमबार बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको दाहाल–नेपाल नेतृत्वको चौंथो पूर्ण बैठकले ओलीलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै आजैको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ । दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता मातृका यादवका अनुसार आजको बैठकले मूलभुत रुपमा ओली र पौडेललाई कारबाही गरेको हो । ‘प्रधानमन्त्रीलाई पार्टीबाटै निष्कासन गरेको छ आजको बैठकले’, यादवले मकालु खबरसँग भनेका छन्, ‘यस्तै विष्णु पौडेललाई पनि कारबाही गरिएको छ ।’
ओली र पौडेललाई कारबाही गर्न अध्यक्ष दाहालले राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको पनि यादवले बताए । कारबाहीअन्तर्गत पौडेललाई केन्द्रीय सदस्यबाट निष्कासन गरिएको र स्पष्टीकरण सोधिएको पनि यादवले जानकारी दिए । ‘विष्णु पौडेललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, यादवले भनेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरण नआएकोले ओलीलाई कारबाही गरिएको हो । ‘पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । पौडेललाई साधारण सदस्यबाट कारबाही गरिएको छैन’, यादवले भनेका छन् ।
यसअघि गत ११ माघमा जनसंगठनको कार्यालय, पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई ‘तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ?’भनेर तीन दिने स्पष्टीकरण सोधेको थियो । तर, ओलीबाट कुनै पनि प्रकारको प्रतिक्रिया नआएपछि यो समूहले यस्तो निर्णय गरेको हो ।
पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग जाने
यस्तै आजैको बैठकले पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ ।
यादवका अनुसार अबको केही दिनमै पार्टीको नाम र चुनाव चिह्नमाथि दाबी गर्दै यो समूह निर्वाचन आयोग जानेछ । ‘आजको बैठकमा निर्वाचन आयोग जानेबारे पनि छलफल भयो’, यादवले भनेका छन्, ‘केही दिनभित्रै यो प्रक्रिया अगाडि बढ्नेछ ।’
यसअघि गत १५ गते निर्वाचन आयोगले दुवै समूह (दाहाल–नेपाल र ओली) लाई थप छलफलको लागि डाकेको थियो । तर, दाहाल–नेपाल समूहले भने थप केही समय कुर्नुपर्ने भन्दै आयोगलाई पत्र थमाएको थियो । ओली समूहले भने निर्वाचनको तयारी अगाडि बढाउनुपर्ने माग गरेको थियो ।








