भारतमा साढे २ लाखसम्म कमाइ गर्ने र जेष्ठ नागरिकलाई आयकर छुट

काठमाडौं । भारतको केन्द्र सरकारले ल्याएको आर्थिक वर्ष २०२१/२२ को बजेट न्युन आय भएका भारतीयका लागि निराशाजनक देखिएकाे छ । केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सोमबार घोषणा गरेको बजेटमा सबैभन्दा कम आय भएका आम नागरिकले तिर्नुपर्ने आयकरसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन भएको छैन । काेभिड–१९ महामारीका कारण आय गुमाएका नागरिकले भने सरकारबाट थप राहतकाे आशा गरेका थिए ।

बजेटले गरेको नयाँ व्यवस्था अनुसार वार्षिक साढे २ लाख रुपये(भारतीय मुद्रा) आय हुने नागरिकले कर तिर्नु पर्ने छैन । यो व्यवस्था पहिलेदेखि नै थियो । उक्त व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन । त्यस्तै, वार्षिक ५ लाख रुपैयाँसम्म आय गर्ने व्यक्रिले ५ प्रतिशतसम्म आयकर तिर्नुपर्ने पुरानै व्यवस्थालाई बजेटले निरन्तरता दिएको छ ।

तर, ७५ वर्षभन्दा माथिका वरिष्ठ नागरिक र ५ लाखभन्दा बढी वार्षिक आम्दानी गर्नेहरुका लागि भने यो बजेटले केही राहत दिएको देखिएको छ । नयाँ व्यवस्था अनुसार ७५ वर्षमाथिका जेष्ठ नागरिकले गर्ने आयमा कुनै कर नलगाइने भएको छ ।

५ लाखदेखि माथि साढे ७ लाख रुपयेसम्म कमाइ गर्ने व्यक्तिले १० प्रतिशतका दरले आयकर तिर्नुपर्नेे व्यवस्था गरिएको छ । यसअघि यो परिमाणको कमाइ गर्नेसँग सरकारले २० प्रतिशतसम्म कर लिने गरेको थियो । त्यस्तै, साढे ७ लाखदेखि १० लाख रुपयेसम्म आय गर्नेका लागि २० बाट घटाएर १५ प्रतिशत कर लगाउने व्यवस्था गरिएको छ ।

१० देखि साढे १२ लाख आय गर्नेका लागि ३० बाट घटाएर २० प्रतिशत, साढे १२ देखि १५ लाखसम्म आय गर्नेलाई २५ प्रतिशत र १५ लाखभन्दा बढी आय गर्नेलाई ३० प्रतिशत आय कर लगाउने नयाँ व्यवस्था गरेको छ ।

व्यवसायीक संस्थाहरुले गर्ने आयमा भने सरकारले कर्पोरेट करको छुट्टै व्यवस्था गरेको छ ।

प्रतिक्रिया