प्रचण्डविरुद्ध अवहेलना मुद्दा, मंगलबारका लागि पेशी

- धनबल राई
काठमाडौं । विभाजित एक चिरा नेकपाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर बलामीले ‘न्यायाधीशहरुले जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने’ अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा गराएका हुन् ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले दिएको जानकारीअनुसार दाहालविरुद्ध आइतबार नै मुद्दा परेको थियो । ‘हो प्रचण्डविरुद्ध अवहेलनाको मुद्दा परेको हो’, अधिकारी ढकालले मकालु खबरसँग भनेका छन्, ‘मुद्दा हिजै परेको हो । दर्ता पनि भइसकेको छ ।’
ढकालका अनुसार मुद्दामा पेशी मंगलबार (भोलि)को लागि तोकिएको छ । ‘मुद्दामा पेशी भोलिको लागि तोकिएको छ’, ढकालले भनेका छन् । निवेदनमा दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
गत शुक्रवार विराटनगरको आफू निकटको आमसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुलाई अदालतमाथि विश्वास रहेको बताउँदै आफूअनुकूलको फैसला नभए सभामुखमार्फत् प्रतिनि सभा बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका थिए । उनले भनेका थिए,‘सारा देशले सुने हुन्छ । सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत् प्रतिनिधि सभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालतनै ठूलो हो ।’
अदालतले यसअघिनै प्रधानमन्त्री ओली, पूर्व सभामुख दमननाथ ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैँ लिखित जवाफसहित उपस्थित हुन भनिसकेको छ ।








