संघलाई खरायोको गतिमा चलाउँछु : उम्मेदवार श्रेष्ठ 

  • ध्रुवराज खनाल

चितवन । उद्योग वाणिज्य संघ खैरहनीकोआसन्न निर्वाचनमा उम्मेदवारी दिएका लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार दिपेन श्रेष्ठ हिराले निर्वाचनमा आफ्नो  प्रतिद्वन्द्वी नभएको बताएका छन् ।

संघको साधारण सभा तथा अधिवेशन आगामी आइतबार र सोमबार हुँदैछ । चुनावी प्रतिबद्दता तथा आफ्नो प्यानलको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो प्रतिद्वन्दी नरहेको बताएका हुन् । उनले आफ्नो पूर्ण उम्मेदवार नै किटान नगरेको टिमले चुनाव जित्छु भन्नु हाँस्यास्पद भएको बताउँदै आफ्नो पक्षका उम्मेदवारहरु भिन्न व्यवसायिक क्षेत्रका प्रतिनिधि रहेकाले जित सुनिश्चित रहेको जिकिर गरे । आफू निर्वाचित भएको खण्डमा संघलाई खरायोको गतिमा सञ्चालन गर्ने दावी गरे । ‘संघ अहिले कछुवाको गतिमा छ’, श्रेष्ठले भने– ‘संघलाई चलायमान बनाउन खरायोको गतिमा लैजानेछु ।’

|उम्मेदवार दिपेन श्रेष्ठ। तस्वीरः ध्रुवराज खनाल, मकालु खबर|

उनले आफू १४ वर्षदेखि संघमा आबद्ध रहेको बताउँदै ६४ सालमा द्वितीय उपाध्यक्ष हुँदै विभिन्न पदमा र जिम्मेवारीमा रहँदै आएकोमा यसपटक अध्यक्ष पदमा उमेदवारी दिएको बताए । श्रेष्ठले यो व्यवसायीको संघ भएकाले व्यवसायीनै संघको नेतृत्वमा आउनुपर्ने धारणा राख्दै आफू ३२ वर्षदेखि खैरहनीमा व्यवसाय गरेर बसेको व्यक्ति भएको जिकिर गरे ।

उनले आफू नेतृत्वमा आएर व्यवसायिक स्वतन्त्रताका लागि आवश्यक वातावरण बनाउने, दोहोरो करमा रहेका व्यवसायीको उत्थानका लागि पहल गर्ने, ग्राहकमैत्री बजार व्यवस्थापन गर्ने, उद्योगी तथा व्यवसायीहरुको कल्याणको लागि १ करोडसम्मको कल्याण कोष स्थापना गर्ने, महिला तथा नव व्यवसायीलाई तालिम लगायतको व्यवस्था गर्नेसहितको प्रतिबद्धता पनि जाहेर गरे ।

लोकतान्त्रिक प्यानलको निर्वाचन परिचालन समिति संयोजक रहेका शशी खनियाँले खैरहनीमा रहेका सबै व्यवसायीलाई मिलाएर लान सक्ने व्यक्ति दिपेन श्रेष्ठ रहेको बताए ।  संघको सदस्य पदका उम्मेदवार कुमार खनालले सबै व्यवसायीलाई समेटेर आफ्नो प्यानल चुनावमा होमिएकाले जित सुनिश्चित रहेको जिकिर गरे ।

कांग्रेस निकट व्यवसायीको लोकतान्त्रिक प्यानलबाट वाणिज्यतर्फको सदस्य पदका उम्मेदवारहरुमा क्रमशः कुमार खनाल, विनोद अर्याल, विक्रम खड्का, केदार नाथ बर्ताैला, अनिल श्रेष्ठ, प्रशान्त अधिकारी, रामेश्वर प्रसाद चौधरी, रामचन्द्र विश्वकर्मा, क्षेत्र बहादुर रावल रहेका छन् ।

त्यस्तै उद्योगतर्फको उम्मेदवारहरुमा क्रमशः किरण वुर्लाकोटी, अनुप अधिकारी, शंकर कँडेल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरी रहेका छन् ।

संघमा कूल १ हजार ४ सय ३० मतदाता रहेका छन् भने अध्यक्ष र सदस्य पदमा निर्वाचन हुनेछ । बहुमत प्यानलले सदस्यमा निर्वाचितलाई  पदाधिकारीमा नियुक्त गर्ने छ ।

प्रतिक्रिया