व्यापक बन्दै क्युआर कोड भुक्तानी, उपभोक्तालाई सजिलो

  • पुष्प कोइराला

काठमाडौँ । नेपालमा क्युआर (क्विक रेस्पोन्स) कोडमार्फत डिजिटल भुक्तानी गरेर हुने कारोबारले बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ५ महिनाको तथ्यांक हेर्दा क्युआर कोडमार्फत मासिक झण्डै ३० प्रतिशतका दरले भुक्तानी कारोबार बढ्दै गएको देखिएको छ । सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ ले लिएको डिजिटलाइजेशनको दिशामा यो महत्वपूर्ण नतिजा भएको गभर्नर महाप्रसाद अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

‘क्यासलेस वा डिजिटल भुक्तानीमा क्युआर कोडले ल्याएको यो उत्साहजनक नतिजाले नेपालको डिजिटलाइजेशनमा सघाउने छ,’ उनले भने, ‘यसले नगद बोकेर हिँड्दा हुने अप्ठ्यारा र असुरक्षालाई हटाउने छ ।’ दैनन्दिनका लागि चाहिने तरकारी तथा नुन र तेलदेखि सुनसम्मको कारोबार क्युआर कोड भुक्तानी प्रणालीमार्फत हुने भएपछि वस्तु तथा सेवा व्यवसायी र उपभोक्ताले सहजता पाउने देखिन्छ ।

यही फाइदाका कारण पनि राष्ट्र बैंकले डिजिटल भुक्तानी कारोबारलाई व्यापक बनाउँदै लाने नीति लिएको गभर्नर अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले शुक्रबार बल्खु तरकारी बजारमा एनएमबी बैंकमार्फत क्युआर कोडमार्फत हुने कारोबारको शुभारम्भ गरे । उनले नै यसअघि कालिमाटी, कुलेश्वर, नख्खु र नक्सालको तरकारी बजारमा विभिन्न बैंकमार्फत यस्तो कारोबारको सुभारम्भ गरिसकेका छन् ।

सुरुमा धेरै जनसँख्या भएका ठूला शहरमा यो सेवा विस्तार गर्ने र विस्तारै यो नगदरहित अर्थात क्यालेस भुक्तानी सेवा गाउँगाउँका पसलसम्म विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । ‘अहिले गाउँका नागरिकसम्मपनि स्मार्ट मोबाइल पुगिसकेका र फेसबुक चलाउन सक्ने व्यक्तिले क्युआर कोडमार्फत सजिलै कारोबार गर्न सक्नेछन् ।’ उनले भने ।

क्युआर कोड चलाउन सक्षम बनाउने योजना
क्युआर कोडको प्रयोग विधिबारे अझै अधिकांश आम मानिस जानकार छैन । ती सबै मानिसलाई क्युआर कोड प्रयोग गर्न सक्षम बनाउने योजना पनि राष्ट्र बैंकको छ । यो भुक्तानी प्रविधिबारे जनचेतना जगाउने, साक्षरता बढाउने योजना बैंकले बनाइरहेको छ । ‘डिजिटल भुक्तानी र क्युआर कोडबारे जनचेतनाका लागि राष्ट्र बैंकले जानकारी मूलक श्रब्य, दृष्य र पठान सामग्रीहरु रेडियो, टेलिभिजन, पत्रिपत्रिका लगायत सञ्चार माध्यमबाट प्रचार प्रसार गर्ने छ,’ गभर्नर अधिकारीले भने, ‘यसका लागि त्यस्ता सामग्री एक वर्षलाई पुग्ने गरी हामीले डेढ महिनाभित्रै प्रचार प्रसारमा ल्याउने लक्ष्य बनाएर काम गरिरहेका छौं ।’

फोन पे र सेल पेको साथ
क्युआर कोड भुक्तानी कारोबारमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट व्यवसायी र आम उपभोक्तालई फोन पे र सेल पे भुक्तानी सेवा प्रदायकले सघाइरहेको छ । एफवान सफ्ट इन्टरनेशनल प्रालिले प्रवद्र्धन गरेको एफवान सफ्ट एपमा जोडिएर क्युआरमार्फत कारोबार गर्ने गरी दर्ता भएका सेवाग्राहीको संख्या १ करोड ३० लाख भन्दा बढी रहेको फोन पेले जनाएको छ । त्यस्तै फोन पेको सेवा लिने बैंक तथा वित्तीय संस्था ५० भन्दा बढी छन् । त्यसैगरी फोनपेबाट कारोबार गर्ने वस्तु तथा सेवा व्यापारी (मर्चेन्ट)हरुको संख्या १ लाख ५० हजार भन्दा बढी देखिएको छ ।

त्यस्तै, सेल पे मार्फत पनि व्यवसायीले क्युआर कोडमार्फत भुक्तानी सुरु गरेका छन् । सेल पेको भुक्तानी प्रणालीमा हालसम्म १९ ओटा बैंक तथा वित्तीय संस्था जोडिएका छन् । त्यस्तै, ३३ ओटा वस्तु तथा सेवा व्यवसायी गर्न मर्चेन्ट व्यवसायी यसको नेटवर्कमा जोडिएका छन् ।

कसरी हुन्छ क्युआर कोडमार्फत भुक्तानी ?
क्युआर कोड मार्फत कारोबार गर्न क्युआर कोड सेवामा आवद्ध बैंकको आफ्नो खातामार्फत मोबाइलमा मर्चेन्ट व्यसायीले राखेको कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । यसका लागि मर्चेन्ट व्यापारीसँग वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकले मोबाइलमा इन्टरनेट डाटा भुक्तानी गर्न सक्नेछन् ।

भुक्तानी गर्ने व्यक्तिले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न चाहेको रकमसहित पठाएको सन्देश भुक्तानीकर्ताको बैंकले प्राप्त गर्छ । त्यसपछि भुक्तानीकर्ताको बैंकले भुक्तानी पाउने व्यापारीको खातामा तत्काल रकम पठाउँछ । र, भुक्तानी पाएको म्यासेज मर्चेन्ट व्यापारीले प्राप्त गर्छ ।

‘भुक्तानी कारोबारका लागि विश्वकै सबै भन्दा छिटो, सहज र सुरक्षित अहिलेसम्मको प्रविधि क्युआर कोड नै हो,’ गभर्नर अधिकारी भन्छन्, ‘व्यापारीले राखेको कोड स्क्यान गर्नासाथ आफ्नो मोबाइलमार्फत खाताबाट व्यापारीको बैंक खातामा सोझै डिजिटल भुक्तानी गर्न सकिन्छ ।’

प्रतिक्रिया