आँखा फरफराउनुको कारण : अनिन्द्रा, तनाव र थकान

एजेन्सी । आँखा फरफराउनुलाई नेपाली समाजमा राम्रो र नराम्रोको संकेतका रुपमा लिइन्छ । यद्यपी याे वैज्ञानिक कारणसँग जाेडिएकाे हुन्छ । अनिन्द्रा, तनाव र थकानका कारण आँखा फरफराउने विज्ञहरू बताउँछन् ।

साना मांसपेशीय संकुचनका कारण पनि आँखा फरफराउने गर्छ । वास्तवमा मांसपेशीहरू फाइबरले बनेको हुन्छ, जसलाई स्नायुले नियन्त्रण गर्छ । आँखा फरफराउनु त्यसकाे मांसपेशीमा बारम्बार हुने ऐठन पनि हो । कुनै नसामा उत्तेजना र क्षति पुग्दा पनि आँखा फरफराउने गर्छ । पुरुषको तुलनामा महिलाको आँखा बढी फरफराउने गर्छ ।

थकान या तनाव, निन्द्राको कमी, आँखामा बढी दबाब पर्नु, क्याफीन, अल्कोहल, निकोटिन, औषधिको साइड इफेक्ट, धेरै शारीरिक अभ्यास, शरीरमा पोटासियमको कमी, पाेषक तत्वकाे कमी, एलर्जी लगायतका कारणले आँखा फरफराउने चिकित्सकहरू बताउँछन् । माेबाइल, ल्यापटप र कम्प्युटरकाे धेरै प्रयाेगले पनि यस्ताे हुने गर्छ । माइग्रेन, एन्टिसाइकोटिक, उच्च रक्तचाप, डिप्रेशन लगायतका औषधिको सेवनले पनि दुवै आँखा फरफराउन सक्छ ।

सुख्खा आँखा पनि फरफराउनुकाे कारण हाे । बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसकाे आँखा सुख्खा हुने गर्छ । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुने गर्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ ।

समाधान 

यदि तपाईँ स्क्रिनमा बढी समय बिताउनु हुन्छ भने कम्तिमा २० मिनेट आराम गर्नुपर्छ । पोषणयुक्त खाना खानुपर्छ । पर्याप्त आराम र मेडिटेशन पनि यसका लागि फाइदाजनक छ । क्याफिन, अल्काेहल, निकाेटिन कम गर्ने, आँखा सुख्खा भएमा आइ ड्रपको प्रयोग गर्ने, खानामा हरिया सागसब्जी, दालको प्रयोग बढाउने गर्दा पनि केही हदसम्म याे समस्याबाट बच्न सकिन्छ ।

यद्यपी याे समस्या दुई हप्ताभन्दा बढी देखिन थाल्याे, आँखा खोल्न समस्या भयो, शरीरका अन्य अंगहरु फरफराउन थालेमा, आँखा रातो भएमा, दुवै आँखा एकसाथ फरफराएमा भने तत्काल आँखा चिकित्सककहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ । लगातार आँखा फरफराउँदा चश्मा लगाउनुपर्ने सम्भावना पनि बढ्छ ।

प्रतिक्रिया