प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रममा मेयर नजाने

चितवन । भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको दुई वटा परियोजनाको शिलान्यास कार्यक्रमको विषयलाई लिएर विवाद देखिएको छ । स्थानीय सरकारलाई जानकारी नदिए शिलान्यास कार्यक्रम राखेको भरतपुर महानगरपालिकाले जनाएको हो ।
महानगरले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी भोलि (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा शिलान्यास गर्न लागेको कार्यक्रममा सहभागी नहुने जनाएको छ । संघीय सरकारबाट शिलान्यासको कुनै पनि आधिकारिक खबर नभएकाले आफूहरु सहभागी नहुने मेयर रेनु दाहालले बताइन् । स्थानीय सरकारको पहलमा दुवै परियोजनाको सुरुवात गरिएको मेयर दाहालले स्पष्ट पारिन् ।
सिटिहल र गोन्द्राङ नारायणगढ ६ लेन सडकको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने तय भएको छ । सम्बन्धित मन्त्रालयसँग पटकपटक शिलान्यास गरौँ भन्दा पनि वास्ता नगरी बसेको र अहिले प्रधानमन्त्रीमार्फत शिलान्यास गर्ने भनेको सुन्दा अचम्म लागेको उनको भनाई छ ।
सिटी हल निर्माणका लागि सुरुमा जग्गा खोजीमा विभिन्न खालको अवरोध सहनुपरेको महानगरपालिकाले जग्गा पाइसकेपछि प्रकृया पूरा गरेर निर्माण सुरु भएपछि संघीय सरकारले आफूले जस लिन खोजेको दाहालको दाबी छ । दुवै परियोजनाको शिलान्यासपछि दिउँसो केन्द्रीय बस टर्मिनलमा हुने सभालाइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
यता सिटि हल शिलान्यास कार्यक्रममा सहभागिताका लागि शहरी विकास मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहका अनुसार शिलान्यास कार्यक्रममा सहभागीताका लागि जिल्लाका राजनीतिक दल, पत्रकार, जनप्रतिनिधि र सरोकारवाला सबैमा निमन्त्रणा पठाइएको छ ।
सिटीहल निर्माणका लागि संघीय सरकार अन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इण्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार विगाहा चार कठ्ठा जग्गामा सिटीहल निर्माण हुन लागेको हो ।









