दुवै नेकपालाई निर्वाचन आयोग बोलाइयो, यी विषयमाथि छलफल हुँदै

  • धनबल राई

काठमाडौं । निर्वाचन आयोगले दुवै नेकपालाई छलफलका लागि डाकेको छ । आयोगले शुक्रबार बिहान ११ बजेको लागि दुवै नेकपालाई छलफलमा डाकेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइको छ । ‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भोलि बिहान छलफल हुन्छ । आयोगले ५/५ जना बोलाएको छ ।’

शुक्रबार खासगरी दुई वटा विषयमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हन्छ ।’

गत १२ माघमा आयोगले कुनै पनि नेकपालाई आधिकारिकता नदिने निर्णय गरेको थियो । त्यसपछि दाहाल–नेपाल समूह भने असन्तुष्ट हुँदै पुनः पार्टीको नाम र चुनाव चिह्न दाबी गर्ने बताएको थियो ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले राष्ट्रिय राजनीति प्रभावित बनेको छ । ओलीले आगामी १७ र २७ बैशाखमा निर्वाचन गर्ने मिती तोकेका छन् ।

प्रतिक्रिया