अधिकांश घरेलु हिंसामा मिलापत्र

भरतपुर । चितवनमा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो ।

चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले कार्यालयमा खान, लाउन नदिएकोमा १७, कुटपिट गरेकोमा १८ र गाली, बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन् ।

घरेलु हिंसामा गत आर्थिक वर्षमा तुलनात्मकरूपमा कमी आएको छ । गत आव ०७६/७७ मा कुल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तिनमा खान, लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली, बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए । सबै उजुरीलाई मिलापत्रमा टुंग्याइएको थियो ।

आव ०७५/७६ मा कुल ३३५ वटा उजुरी परेका थिए । खान, लाउन नदिएकोमा ८९, कुटपिट गरेकोमा १३० र गाली, बेइज्जती गरेकोमा ११६ वटा उजुरी परेका थिए । ती सबै उजुरीलाई मिलापत्रमा टुंग्याइएको थियो । ०७४/७५ मा परेका कुल ३१५ वटा घरेलु हिंसाका मुद्दालाई पनि मिलापत्रमै टुंग्याइएको थियो । खान, लाउन नदिएकोमा ८०, कुटपिट गरेकोमा १७८ र गाली, बेइज्जती गरेकोमा ५७ वटा उजुरी परेका थिए ।

गत तीन वर्ष र चालु आवको छ महिनाको तथ्यांकलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन् । सामाजिक र पारिवारिक रूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुंग्याउने गरेको छ ।

प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ । यदि, एक महिनासम्ममा पनि मेलमिलाप नभएमा मुद्दालाई अदालतमा लगिन्छ । अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने गरेका छन् । रासस

प्रतिक्रिया