संसद विघटनविरुद्धको आन्दोलनमा पार्टीभित्र विवाद छैन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले संसद विघटनको विरुद्ध उभिन पार्टीभित्र कुनै विवाद नरहेको बताएको छ । कांग्रेसका मूख्यसचिव कृष्णप्रसाद पौडेले बुधबार विज्ञप्ति निकालेर संसद विघटनविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको उल्लेख गर्दै संचारमाध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे समाचार भ्रमपूर्ण रहेको बताएका हुन् ।

पहिलाे चरणकाे आन्दाेलन सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरि सर्वसम्मतिले पारित गरिएकाे र माघ १३ गते दोश्रो चरणको आन्दोलन तय गर्दा पनि सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरि सर्वसम्मतिले पारित गरेकाले यो विषयमा पार्टीभित्र विवाद छ भन्नु गलत भएको जिकिर गरिएको छ ।

पहिलाे चरणमा कांग्रेसले वडादेखि संघीय निर्वाचन क्षेत्रसम्म विरोधका कार्यक्रम गरेकाे थियाे ।

यसअघिका प्रदर्शनमा देखिएको ब्यापक सहभागिताले संसद विघटनविरुद्ध नेपाली जनताको भावना अभिब्यक्त गरेको र आन्दोलनका आगामी कार्यक्रममा सहभागिता अझ ब्यापक बनाउन सिंगो पार्टी सम्पूर्ण एकताका साथ मैदानमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम रहेको ठहरसहित विरोधका कार्यक्रम गरिरहेको कांग्रेसले जनाएको छ ।

संसद विघटनको विरोधमा माघ १९ गते सोमबार भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते शनिबार शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा तथा फागुन ३ गते सोमबार जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्ने निर्णय केन्द्रिय कार्यसमितिको बैठकले मंगलबार गरेको पनि कांग्रेसले स्मरण गराएको छ ।

प्रतिक्रिया