कृषिमा विदेशी लगानी रोक्न माग गर्दै आन्दोलन

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रका विदेशी लगानी रोक्न माग गर्दै यस क्षेत्रमा संलग्न व्यवसायी तथा कृषकले बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन सुरु गरेका छन् ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचिमा संशोधन गर्दै कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानी खुला गर्ने नीतिगत व्यवस्था गरेपछि त्यसको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

कृषि तथा पशुपन्छी क्षेत्रका १८ वटा संगठनले कृषिमा विदेशी लगानी खुला विरुद्ध राष्ट्रिय संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा रहेको समितिको अगुवाइमा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु गरेकाे संयोजक केसीले मकालु खबरलाई बताए ।

कृषि तथा पशुपन्छी पालन क्षेत्रका किसान र साना तथा मझौला व्यवसायी आन्दोलनमा उत्रिए पनि ठूला व्यवसायीले भने सरकारले गरेको नीतिगत व्यवस्थाको समर्थन गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले समेत सरकारले गरेको उक्त व्यवस्थाको समर्थन जनाएको छ ।

संघर्ष समितिमा अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपन्छी पालन संघ नेपाल, डेरी उद्योग संघको सहभागिता छ । त्यस्तै, कृषि विउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ, बख्रा व्यवसायी महासंघ, मौरीपालक महासंघलगायतका संघसंस्थाको सहभागिता छ ।

प्रतिक्रिया