मासिक ५ हजार पारिश्रमिकमा होटल संघ र ट्रेड युनियनबीच सहमति

काठमाडौं । कोभिड–१९ का कारण बन्द अवस्थामा रहेका होटलले कर्मचारीलाई जीवन यापनका लागि दिने मासिक पारिश्रमिकमा होटल संघ र ट्रेडयुनियन बीच सहमति भएको छ । काेभिडकाे प्रभाव कम देखिए पनि हाेटल तथा पर्यटन क्षेत्र पूर्ण रूपमा सञ्चालनमा नआएकाे भन्दै आउँदाे डिसेम्बर ३१ सम्मका लागि याे नयाँ सहमति लागू गर्न दुबै पक्ष सहमत भएका छन् ।

पाँच तारे होटल तथा रिसोर्टले आफ्ना श्रमिक तथा कर्मचारीलाई मासिक न्युनतम ५ हजार रुपैयाँ दिने सहमति भएको छ । सहमति अनुसार ४ तारे होटल तथा रिसोर्टका कर्मचारीलाई ४ हजार, ३ तारेका लागि मासिक ३ हजार, दुई तारेका लाई मासिक २ हजार ५ सय र एक तारेका लाई २ हजार र पर्यटक स्तरीय होटललाई आपसी सहमतिमा जीवन निर्वाह रकम उपलब्ध गराइने भएको छ ।

सहमति अनुसार श्रमिक तथा कर्मचारीले चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता नपाउने भएका छन् । त्यस्तै, चक्रिय प्रणाली(रोटेशन)मा काममा लगाइने, तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई काममा नलगाउने सहमति भएको छ ।

बैंकेट सेवाका लागि आवश्यक तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई व्यवस्थापनले काममा लगाउन सक्ने सहमतिमा उल्लेख छ । काममा नबोलाइएको अवस्थामा विदा सुविधा नपाउने, स्वैच्छिक अवकाश लिन चाहने वा उमेर हदका कारण अवकार पाउने कर्मचारीलाई लकडाउनभन्दा अघिको खाइपाइआएको तलब सुविधा दिएर विदा गर्ने सहमति भएको छ ।

त्यस्तै, होटल प्रतिस्ठानहरुले कर्मचारीलाइ सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनु पर्ने सहमति भएको छ । यो नयाँ सहमति (सम्झौता)सन् २०२१ डिसेम्बरसम्म कायम रहने सम्झौता पत्रमा उल्लेख छ ।

होटल संघ नेपालकी अध्यक्ष सृजना राणा, होटल संघ नेपालका पदाधिकारी, नेपाल स्वतन्त होटल मजदुर युनियनका अध्यक्ष सुर्यबहादुर कुँवर, अखिल नेपाल होटल मजदुर क्यासिनो तथा रेष्टुरेन्ट मजुदर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटल श्रमिक संघका अध्यक्ष खेमराज खड्काले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्ताे छ सहमति पत्र 

प्रतिक्रिया