निकाे भइसकेका संक्रमितले पनि लगाउनुपर्छ खाेप ?

काठमाडौं । नेपालमा भाेलि (बुधबार) देखि खाेप अभियान सुरू हुँदैछ । भारतले अनुदानमा दिएकाे काेभिड विद्धको १० लाख डोज काेभिसिल्ड खोप भाेलि सातै प्रदेशमा लगाउन सुरू गर्ने सरकारकाे तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गर्दैछन् । पहिलाे चरणमा खाेप स्वास्थ्यकर्मी, शव व्यवस्थापक, सरसफाइकर्मी लगायतलाई लगाइँदैछ । खाेपबारे धेरै जिज्ञासाहरू जनमानसमा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले खाेप लगाएपछिकाे लक्षण, खाेप कतिकाे सुरक्षित छ, कसले लगाउनु हुँदैन लगायतबारे जानकारी दिएकाे छ ।

महाशाखाका अनुसार गर्भवती, स्तनपान गराइरहेकी आमा, तुरून्त गर्भवती हुने याेजना बनाइरहेका महिलाहरूले याे खाेप लगाउनु हुँदैन । यस्तै पहिलाे डाेज लगाउँदा एलर्जी भएकाहरूले दाेस्राे डाेज लगाउनु हुँदैन । १८ वर्ष मुनिका बालबालिकामा याे खाेपकाे अनुसन्धान भइरहेकाले हाललाई याे समूहलाई खाेप सिफारिश नगरिएकाे मन्त्रालयले जनाएकाे छ ।

खाेप लगाएपछि देखिन सक्ने सामान्य असरहरूबारे पनि मन्त्रालयले जानकारी गराएकाे छ । मन्त्रालयका अनुसार खाेप लगाएपछि खाेप लगाएकाे ठाउँमा सुन्निने, दुख्ने, राताे हुने, टाउकाे दुख्ने, ज्वराे आउने, जिउ दुख्ने, थकान हुने, वाकवाक लाग्ने, आलस्य महसुस हुने, मांसपेसी वा जोर्नीको दुखाइ हुने, लगायतका असर देखिन सक्छन् । यस्ता सामान्य समस्याहरू विस्तारै ठिक हुँदै जाने मन्त्रालयले जनाएकाे छ ।

निकाे भइसकेका काेराेना संक्रमितले पनि खाेप लगाउनुपर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन नभएकाले पनि सबैले खोप लगाउनुपर्ने मन्त्रालयकाे भनाइ छ ।

 

प्रतिक्रिया