होटल र हाउजिङमा लगानी विस्तार गर्दै एमएस ग्रुप (भिडियोसहित)

काठमाडौं । नेपालको उदाउँदो औद्योगिक घरानाका रुपमा अघि बढिरहेको एमएस ग्रुपले होटल र हाउजिङ व्यवसायमा लगानी विस्तार गर्ने भएको छ । अमेरिकी ब्राण्डको बहुराष्ट्रिय होटल चेन मेरियट काठमाडौं सञ्चालन गरेको एमएस ग्रुपले मेरियटकै ब्रान्ड र व्यवस्थापनमा काठमाडौंमा ५ वटा र काठमाडौं बाहिर ७ ओटा गरी १२ वटा होटल सञ्चालन गर्ने योजना अघि बढाइरहेको ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रबालले मकालु खबरलाई जानकारी दिए ।

‘मेरियटकै ब्रान्डमा १२ वटा होटल सञ्चालन गर्न सन् २०१८ मै सफ्ट एमओयु गरेका थियौं,’ उनले भने, ‘यी मध्ये ठमेलमा चारतारे स्तरको र नक्सालमा पाँचतारे मेरियट सञ्चालनमा ल्याइसकेका छौं ।’ उनकाअनुसार काठमाडौंको कमलादीमा अब तेस्रो मेरियट सञ्चालन गर्ने गरी काम अघि बढिरहेको छ । ग्रुपले त्यसपछि भक्तपुरको नयाँ ठिमीमा होटल खोल्ने र पाँचौं आयोजनाको रुपमा नेपालमा ‘लग्जरियस रिसोर्ट’ बनाउने योजना बनाएको छ । तर, कोभिड–१९ का कारण अहिलेका लागि यो योजना स्थगित गरिएको अग्रवालले बताए ।

‘एकपछि अर्को गर्दै होटल खोल्ने गरी हामीले जग्गा खरिद गरिसकेका छौं,’ अग्रवालले भने, ‘कोभिडको समस्या नआएको भए अहिले कमलादीमा पनि अर्को होटल सञ्चालनमा आइसक्ने थियो ।’ अब अवस्था हेरेर अघि बढ्ने उनले बताए । ग्रुपले अहिले गरिरहेको व्यवसायलाई सम्हाल्दै अन्य व्यवसाय अघि बढाउने योजना रहेको पनि उनले सुनाए ।

ग्रुपले भक्तपुरमा २ सय २१ वटा एकाईसहितको नयाँ अपार्टमेन्ट (संयुक्त आवास) निर्माणको योजना तत्काल अघि बढाउने भएको छ । भूकम्प र कोभिडपछि फेरि नेपालमा संयुक्त आवासको माग बढेको उनी बताउँछन् ।

‘जग्गा सकिँदै गएपछि मानिसले घरमाथिकै स्पेशलाई युज गर्दै जानुपर्ने बाध्यता आउँछ,’ उनले भने, ‘घर जग्गा किन्नुभन्दा अपार्टमेन्टका युनिट सस्तो हुने भएकाले यता आकर्षण देखिएको हो । यो विकसित देशमा धेरै प्रचलनमा रहेको आवास प्रणाली पनि हो ।’ मानिसको चाहना र व्यवसायको सम्भावनाका आधारमा ग्रुपले एउटा व्यवसायलाई स्थापित गर्दै अर्को क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको उनले बताए ।

‘यो ग्रुप ट्रेडिङकै लागि स्थापना भएको हो,’ उनले भने, ‘ग्रुपको विभिन्न विङ्समध्ये एउटाले अहिले पनि राम्ररी ट्रेडिङ व्यवसाय गर्दै आएको छ । अब झनै विस्तारित हुँदै यो ग्रुपलाई अघि बढाउने हाम्रो चाहना छ ।’

ट्रेडिङ व्यसायमा संलग्न व्यवसायी मालिराम अग्रवाल र उनका छोरा शिवकुमार अग्रवालको नामबाट एमएस ग्रुपको स्थापना भएको हो । अहिले मालिरामका नाति तथा शिवकुमारका छोरा पुस्ताले यो ग्रुपलाई हाँकिरहेका छन् ।

खास गरी व्यापार गर्ने उद्देश्यले स्थापना गरिएका यो ग्रुपले सन् १९८१ मा टेक्सटाइल अर्थात् कपडा उद्योग सञ्चालनमा ल्यायो । ग्रुपले १९८७ मा आर्किलिक स्पिनिङ मिल स्थापना गरेपछि निरन्तर लगानी विस्तार र विविधिकरण गर्दै लगेको छ । ग्रुपले अहिले कपडा, धागो, चिनी, स्टिल, कन्फेक्सनरी(मिठाइ) जस्ता प्रशोधन उद्योग, बैंक, बीमा, तारे होटल लगायत सेवा उद्योग हुँदै रियलस्टेट (घरजग्गा) जस्ता क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ ।

हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया