अमेरिकी राजदूत बेरीद्वारा राजनीतिक भेटघाट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले राजनीतिक भेटघाट तिब्र बनाएका छन् । नयाँ राष्ट्रपतिले पद सम्हालेपछिको अमेरिकाका फेरिँदा प्राथमिकता र सहकार्यका विषयमा जानकारी गराउन राजदूत बेरीले नेपालमा केही दिनदेखि  राजनीतिक भेटघाट थालेका हुन् ।

राजदूत बेरीले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको अमेरिकी दूताबासले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि अमेरिकी राजदूत बेरीले ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति आएपछिका विश्व प्राथमिकताका बारेमा छलफल गर्ने सिलसिलामा नेपाली सरकार र शिर्ष नेतृत्वसँगको भेटघाट हुने क्रम चलिरहेको बताएका छन् ।

यस्तै,  प्रचण्डसँगको भेटपछि ट्वीट गर्दै राजदूत बेरीले नयाँ प्रशासनका प्राथमिकताबारे छलफल गर्न भइरहेका भेट अनुसार प्रचण्डसँग भेट गरेको र भेटका क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकाको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता ब्यक्त गरेकाे बताएका छन् । राजदूत बेरीले गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए ।

प्रतिक्रिया