स्वदेश फर्किए ‘केटू’का कीर्तिमानी आरोही

काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही स्वदेश फर्किएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’सहित १० नेपालीले विश्वको दोस्रो अग्लो हिमाल केटू को माघ ३ गते सफल आरोहण गरेका थिए । सो आरोहीको टोली आज बिहान काठमाडौँ आइपुगेको हो ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जासहित मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा सहभागि थिए ।

विमानस्थलमा स्वागत
उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा सम्मान गरिएको छ ।

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिनेछ । बोर्डको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गर्नुहुने कार्यक्रम रहेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । योसँगै विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको हो ।

विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

प्रतिक्रिया