नेपाली राष्ट्रिय गान गाउँदै हिउँदमा ‘केटू’को चुचुरोसम्म [भिडिओसहित]

काठमाडौं । दश नेपाली पर्वतारोहीको टोलीले गत शनिबार विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेको छ ।
हिउँदमा केटूको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको उक्त टोली स्थानीय समयानुसार शनिबार बेलुकी ५ बजे शिखरमा पुगेको थियो । यो हिउँदमा उक्त हिमालमा दर्जनौं पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए । तर, त्यसबीचमा नेपाली आरोहीहरुलाई भने सफलता मिलिहाल्यो ।

शिखरमा पुग्ने १० नेपालीहरूमा पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरुले चढ्ने क्रममा नेपाली राष्ट्रिय गान (सयौं थुँगा फूलका हामी…) गाएका छन् । आरोहण गर्दै उक्त गीत गाएको भिडिओ टोलीका सदस्य निर्मल पुर्जाले आफ्नो आधिकारिक ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटू पाकिस्तान र चीनको सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा पर्दछ । संसारमा भएका ८ हजार मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटू हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ । तर, उक्त चुनौतीको सामना पुर्जाको टोलीले भने सहज रुपमा गर्यो ।

केटूको सबैभन्दा कठिन स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान छ, जसलाई केटू आरोहणको कठिनाइसँग जोड्ने गरिन्छ ।

केटूको आरोहणपछि नेपाली टोलीले सम्मान पाएको कुरा पुर्जाले जानकारी दिएका छन् । उनले उल्लेख गरेका छन्, ‘म र मेरो पूरै टीम स्कार्डु र इस्लामावाद आइपुगेकोमा यस्तो सुखद् न्यानो स्वागत पाउँदा खुसी छौँ । हाम्रो हृदय कृतज्ञताले भरिएको छ । धेरै पाकिस्तानीले धन्यवाद दिनुभएको छ । जसले हामीलाई घरमै भएको महसुस गराउँदछ ।’ सन् १९८७–८८ मा पहिलो प्रयास गरिएपछि केटूको शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयासहरु भएका थिए । यस अघिसम्म ७,६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन् ।

प्रतिक्रिया