प्रदेश १ मा आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा लाभग्राही, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यज्यूहरू लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीको उपस्थिति थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य रहेको बताए ।

कोसबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड– १९) का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोशको स्थापना गरेको हो ।

कोषबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड– १९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाएको थियो ।

 

प्रतिक्रिया