प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी भएको बताएका छन् ।

आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघ-संगठनसँगकाे साक्षात्कार कार्यक्रममा बोल्दै प्रम ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देश विरोधी भएको बताएका हुन् ।

असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उनले बताए । संसद पुनर्स्थापना गर्न चाहनेहरुले देशमा  स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको उनले आरोप लगाए ।

यस्तै उनले संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने बताए । आफूले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको पनि बताए । शारिरिक रुपले अशक्तहरुका लागि सरकार चाहिने भन्दै उनले अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया