सेयरमा ५० अंकको उभार, साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ५० अंकको उभार देखिएको छ । शुक्रबार र शनिबार २ दिन लगानी गर्न नपाएका लगानकर्ताको उत्साह आइतबारको बजारमा देखिएको छ ।

आइतबारको कारोबारपछि नेप्से परिसूचक २४२४ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन माघ ८ गते बिहीबार ३१ अंकले बढेर परिसूचक २३७४ अंकमा पुगेको थियो ।

आइतबार ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँमा २ सय ७ कम्पनीका १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच भएको छ । ७९ हजार ४ सय ९८ ओटा कारोबारमार्फत उक्त शेयर किनबेच भएको हो ।

आइतबार व्यापार समूहबाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको समूहगत परिसूचक २२१ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६६ करोड ८२ लाखको शेयर कारोबार भएको छ । त्यस्तै, पूनर्वीमा कम्पनीको ३४ करोड ७९ लाख, नेपाल टेलिकमको ३१ करोड ८९ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोडको कारोबार भएको छ ।

धेरै कमाउनेमा गुराँस लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त छन् । यी ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट बे्रक लागेको थियो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया