भुक्तानी सेवा प्रदायकमार्फत राजस्व संकलन गर्न त्रिपक्षीय सम्झौता

काठमाडौँ । भुक्तानी सेवा प्रदायक(पीएसपी)मार्फत सरकारी कर तथा राजस्व संकलन गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल), राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व भुक्तानी सेवा प्रदायकमार्फत संकलन गरिने भएको हो । सम्झौतापछि सेवाग्राहीले सरकारी राजस्व भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिमटल सोलुसन लिमिटेडको आइएमई पेको एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्झौताले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजस्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए । आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

आईएमई पेका ३५ हजार एजेण्ट आउटलेट संजाल रहेका छन् । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो । उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।

 

प्रतिक्रिया