उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम विस्तार भएको छ । पूँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने, पूँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समय सापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्र तोकेर महासंघमा पूँजी बजार फोरम पहिलो पटक गठन भएको हो ।

नवगठित फोरमका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रमशरण थपलिया चुनिएका छन् । फोरमका सदस्यमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिका अध्यक्ष संतोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजु प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङ्ग लिका संचालक विष्णु प्रसाद बस्याल, ओरल एडभरटाईजिङ्ग एजेन्सीका प्रवन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटी प्रालिका प्रवन्धक ज्योति दाहाल छन् ।

एनआरएन इनफ्रास्टक्चर लिमिटेडका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिज प्रालिका प्रवन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन् । फोरमको सल्लाहकारमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पूँजी बजारका परामर्शदाता कुमार केशर विष्ट छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पूँजी बजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा फोरम मार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अंजन श्रेष्ठ र रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पूँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम संचालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रियरूपमा लाग्ने अपेक्षा गरे ।

प्रतिक्रिया