एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. गाेविन्द केसी

काठमाडाैं । डा. गाेविन्द केसीले शुल्क वृद्धि स्वीकार्य नहुने बताएका छन् । चिकित्सा शिक्षा आयोगले शुल्क वृद्धिका लागि गरेकाे सिफारिसप्रति आपत्ति जनाउँदै डा. केसीले याे अस्वीकार्य रहेकाे बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगले ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । आयोगकाे साे सिफारिस खारेज गरेर गत वर्षसरह वा साेभन्दा कम कायम गर्न डा. केसीले सम्बन्धित निकायहरूकाे ध्यानाकर्षण समेत गराएका छन् ।

‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर-नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’

यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगकाे शुल्क वृद्धि प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया