‘प्रधानमन्त्रीले अटेर गरे, पार्टीभित्र राखिरहिन्न’

  • धनबल राई

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि राजनीतिक रुपमा दुई चिरा परेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक आइतबार मध्याह्न १२ बजेपछि जनसंगठनको कार्यालय, पेरिसडाँडामा बस्दैछ ।

यो समूहले यसअघि गत ९ गते विशाल जनप्रदर्शन गरेको थियो । बैठकमा उक्त प्रदर्शनको समीक्षासमेत गरिने स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए । ‘आजको बैठकका केही एजेण्डाहरु छन्’, पूर्वमन्त्रीसमेत रहेका यादवले मकालु खबरसँग भनेका छन्, ‘९ गतेको समीक्षा हुन्छ । अनि आगामी कार्यक्रमबारे पनि थप छलफल हुन्छ ।’

यादवका अनुसार यो समूहले आन्दोलनलाई थप कसरी सशक्त कसरी बनाउने भन्नेबारे समेत छलफल हुनेछ भने पार्टीभित्रको जिम्मेवारीको बारेमा समेत छलफल हुनेछ । ‘पार्टीभित्रको जिम्मेवारीको बारेमा पनि थप छलफल हुनेछ’, यादवले भनेका छन्, ‘गत १९ गते बसेको बैठकले कमरेड माधव नेपालको संयोजकत्वमा कार्यदल बनेको छ । त्यसले यी कामहरु गर्नेछ ।’

ओलीले अटेर गरे, पार्टीमा राखिरहिन्न
प्रधानमन्त्रीलाई तपाईँहरुले सोध्नुभएको तीनदिने स्पष्टीकरण आएन, यसबारे आजको बैठकले के गर्ला ? भन्ने प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘अटेरीलाई कसैले पनि पार्टीमा राखिरहँदैन ।’

यादवका अनुसार आजको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध निर्णय गर्नेछ । कुन हदसम्मको निर्णय गर्ला आजको बैठकले भन्ने जिज्ञासामा यादवले भनेका छन्, ‘त्यो त बैठकले नै गर्छ । जे भएपनि तपाईँ आफैँले थाहा पाइहाल्नुहुन्छ ।’

यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो । तर, स्पष्टीकरण पत्र बालुवाटार पठाएको तीन दिन बितिसक्दा पनि ओलीले कुनै जवाफ नदिएपछि आजको बैठकबाट उनलाई पार्टीबाटै निष्कासन तयारी यो समूहले गरेको हो ।
उक्त पत्रमा ‘विधानविपरीत गतिविधि गरेकाले तपाईँलाई थप कारबाही किन नगर्ने ?’ भनेर स्पष्टीकरण मागिएको थियो ।

स्पष्टीकरणको जवाफ नआएकोले थप कदम चाल्नुपरेको हो’, यादवले भनेका छन्, ‘निष्कासनबारे बैठकको निर्णय आएपछि थाहा हन्छ ।’

प्रतिक्रिया