‘हाम्रो पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हो’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना पहिलो प्राथमिकता भएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले यस्तो बताएका हुन् । ‘हाम्रो आग्रह संसद् पुनर्स्थापनाका लागि हो । पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने नै हो ।’

यस्तै उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको पनि बताए । कम्युनिष्ट पार्टी फुटिनसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको उनले बताए ।

यता सभापति शेरबहादुर देउवाले भने कांग्रेसलाई मुख्यमन्त्री दिने प्रदेशमा दुवै नेकपासँग सहकार्य गर्ने मनसाय बनाएका छन् । यसैको तयारीअनुरुप देउवाले गत बिहीबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।

यद्यपि पनि दोस्रो तहका नेताहरुले भने देउवाको प्रस्तावलाई स्वीकारिसकेका छैनन् । पछिल्लो समय कांग्रेस अलमलिएको छ । संसद् पुनर्स्थापनाको मागसहित सडक संघर्ष गरिरहेको कांग्रेसले निर्वाचनतिर पनि ध्यान दिँदै आएको छ ।

प्रतिक्रिया