धेरैले रिजेक्ट गरेको ‘कौसीद’लाई ऋचा र भोलाको साथ

  • दिक्षा कट्टेल

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थिति केही हल्का भएसँगै नेपाली चलचित्र क्षेत्र पनि विस्तारै चलायमान हुँदैछ । फिल्म हल खुलेका छन् भने चलचित्र छायांकन हुने क्रम पनि केही बढेकाे छ ।

यही साता मात्रै चलचित्र ‘कौसीद’ फ्लोरमा गएको छ ।काठमाडौंका विभिन्न ठाउँमा छायांकन भएको कौसीद अहिले काठमाडौंकै गोकर्णेश्वरमा छायांकन भइरहेको छ । ऋचा शर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेकाे कौसीदकाे निर्देशन कुमार भास्करले गर्दैछन् । चलचित्रमा लगानी तथा कथा केदार भुसालको छ ।

भुसाल, यो चलचित्रको कथा बोकेर धेरै निर्माताहरुकहाँ पुगेको थिए । बन्दाबन्दीको समयमा नै कथा सिर्जना भएको थियो । एक भर्च्यूअल कक्षाले साझेदारी गरेको अनुभवबाट नै कथाको कन्सेप्ट् बनाएकाे उनी बताउँछन् ।

धेरै कमर्सियल चलचित्रमा काम गरिसकेका उनले ‘सामान्य’ विषयवस्तु उठाएर चलचित्र बनाउने रहर सार्थक बनाउन स्क्रिप्ट् लेखेर धेरै निर्माता र निर्देशककोमा पुगे । तर जवाफ उस्तै–उस्तै आयो । मसला पुगेन, सङ्गीत थपेर आऊ‍‍‍…. अझ कतिले त, ‘यस्तो फिल्म पनि चल्छ ?’ पनि भने । अन्ततः आफैँले निर्माण गर्ने सोच बनाएकाे उनी बताउँछन्

उनले भोलाराज सापकोटालाई स्क्रिप्ट पठाए । दुई दिनसम्म जवाफ नआएपछि फोन गरे, जवाफ आयो–‘म यसमा काम गर्छु, तर छायाङ्कन छिट्टै गरौं ।’

भुसाल अर्को एक चलचित्रको तयारीमा पनि थिए । त्यसका लागि उनले ऋचा शर्मासँग कुरा गरे । तर ऋचाले त्यसमा काम गर्न भन्दा अरू कुनै स्क्रिप्ट छैन भनिन् ।  उनले धकाउँदै उनले ‘कौसीद छ’ भने । स्क्रिप्ट राति १० बजे तिर उनले ऋचालाई मेल गरिदिए । त्यहि रात २ बजेतिर जवाफ आयो ‘म तयार छु ।’ कलाकारबाट आएको ‘क्वीक् डिसिजन’ ले उनलाई उत्साहि बनायो । बाँकी कलाकारका लागि अडिसन गरियो । फिल्म पढ्दै गरेका तथा केही अनुभवी कलाकार लिएर टिम तयार भयो ।  प्राविधिक पक्षका लागि समेत औपचारिक शिक्षा हासिल गरेका केही तथा अनुभवी राखेर टिम तयार पारे ।

बैङ्कका लोन म्यानेजरले दिएको कन्सेप्ट्बाट शुरु भएको फिल्मको कथाले बैङ्कबाटै ऋण लिने मध्यम वर्गीय परिवारको कथा बोल्छ । पुरानो समयमा साहुहरुले ऋण दिएर ब्याजको ब्याज गर्दै धितो राखेको घरजग्गा जफत गर्ने फिल्म हेरेका दर्शकले ‘कौसीद’ मा बैङ्कको व्यवस्थित लूटबारे हेर्न पाउनेछन् ।

‘चलचित्र व्यावसायिक रूपमा चलोस् नचलोस् तर कम्तिमा यस्तो कथामा पनि फिल्म बन्ने रहेछ है भन्ने तरिकाले काम गर्न मन थियो । त्यसैको लागि निर्माणमा समेत हात हालेको छु । बाँकी त हामीले दिने प्रोजेक्ट् र दर्शकको हातमा छ’, भुसाल भन्छन् । पशुपतिप्रसाद, आमालगायत फिल्म समेत बनेर चलेको कारण उनलाई आशा भने छ । साथै टिमको छनौट र मेहनतका कारणसमेत राम्रो बनाउने उनको प्रयास सदैव रहनेछ ।

चलचित्र बनाउन करोडौं लगानी गर्नुपर्ने स्थितिमा उनले भने सकेसम्म कम लगानी गरेर चलचित्र बनाउने तयारी गरिरहेका छन् । केही समयपश्चात् नै अर्को एक कमर्सियल चलचित्र तयारीमा रहेका उनले एक प्रकारले ‘कस्तो होला त ?’ भनेर प्रयोगसमेत गर्न चाहेको बताए ।

चलचित्र बन्ने भएपछि उनको सम्पर्कमा धेरै पुराना निर्मातासमेत आएको उनी बताउँछन् । साथै सामान्य विषयमा लेखिएका स्क्रिप्ट्हरू एक एक गर्दै आएकोमा उनी यसलाई सफलता मान्छन् । ‘जुन प्रकारले हौसला पाउँदै गएको छु, यसले केही गर्ने ऊर्जा थपेको छ’ उनले भने ।

अस्कर कलेजबाट फिल्म मेकिङ्गमा स्नातक गरेका भुसाल यो क्षेत्रमा अध्ययन गरेका मान्छे आउन थालेकोमा खुसी छन् । तर,सैद्धान्तिक ज्ञानले मात्रै नभएर अनुभव र सृजनशीलताले चलचित्र राम्राे बनाउने उनी ठान्छन् ।

करिब सात वर्ष यता यही क्षेत्रमा सक्रिय उनी नेपाली फिल्म क्षेत्रमा आफूलाई थप चिनाउन यो चलचित्र कोशेढुँगा हुने विश्वासका साथ निर्माणमा लागेको उनले बताए ।

|छायाङ्कनको क्रममा ‘कौसीद’ टोली। तस्वीरः|

चलचित्रको पोस्टरमा दुई मुख्य कलाकारको नाम औंठा छापको तल लेखिएको छ भने पत्रिकामा प्रकाशित सूचना र बैंकको लोगोले शीर्षकलाई अझ प्रष्ट्याउन मद्दत गर्छ । चलचित्रमा बिजयप्रकाश श्रेष्ठ तथा धिरज थपलियाले पटकथा  लेखेका छन् भने लक्ष्मण बानियाँ सह–निर्माता छन् । अन्य कलाकारमा परीक्षितविक्रम राणा, निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराई, सदीक्षा गौतम, सन्दीप, लोहनी, बिजय सुब्बा, कमल मण्डललगायतका छन् भने चलचित्रको छायांकन निशल पौडेलले गर्नेछन् । प्रवेशराज पंगेनीको अवधारणामा शुरु गरिएको चलचित्र ‘कौसीद’लाई सम्पादन मित्र डि गुरूङले गर्नेछन् भने कलर र भिएफएक्स सुदिप पाण्डेले गर्ने प्रोडक्सन म्यानेजर राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया