सर्वसाधारणले कहिले पाउँछन् कोभिडविरुद्धको खोप ?

  • सृष्टि नेपाल

काठमाडौँ । भारतबाट अनुदानमा आएको १० लाख डोज कोभिडविरुद्धको खोप नेपाल सरकारले करिब एक सातापछि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ वटै जिल्लामा एकै पटक खोप अभियान सुरु गरिनेछ । ८–१० दिनपछि खोप लगाउन सुरु गरिने उनले मकालु खबरलाई जानकारी दिए ।

पहिलाे खेपकाे खाेपकाे प्राथमिकतामा चार वटा समूह राखिएकाे प्रवक्ता गाैतमले जानकारी दिए । ‘पहिलो लटको खोपको प्राथमिकतामा हामीले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका ब्यक्तिलाई राखेका छौँ किनकी उहाँहरूबाट अन्य व्यक्ति तथा बिरामीमा सजिलै फैलन सक्ने सम्भावना हुन्छ’, उनले भने ।

काेभिड संक्रमणकाे जाेखिम धेरै हुने भएपनि सुरक्षाकर्मी र वृद्धवृद्धा भने पहिलाे चरणको खोपको प्राथमिकतामा छैनन् ।

प्रवक्ता गाैमतका अनुसार १० लाख डाेज खाेप ५ लाख जनालाई पुग्छ । तर खाेप खेर जान सक्ने भएका कारण यसले करिब ४ लाख ५० हजारदेखि ४ लाख ७५ हजार जनालाई पुग्छ । उनी भन्छन्- ‘खोप भाइलमा हुन्छ । एउटा भाइल खोलेपछि १० जनालाई लगाउनुपर्छ । यदि त्यहाँ ९ जना मात्रै उपस्थित भए भने एक डोज खेर जान्छ । एक पटक खाेलिएकाे खोप पुनः स्टोर गरेर राख्न मिल्दैन ।’ काेभिड १० विरूद्धको खोप एक जनाले दुई पटक लगाउनुपर्ने उनले बताए ।

भारतमा समेत लगाउन सुरू गरिएकाे ‘काेभिशिल्ड’ काे साइड इफेक्ट केही जनसंख्यामा देखिएका कुराहरू आइरहेका छन् । याे खाेप परीक्षणकै क्रममा रहेकाे छ । प्रवक्ता गाैतमले भने खोपको साइड इफेक्ट हुनु सामान्य भएकाे बताए । मानिसमा परीक्षण गरेर नै यो खोपले स्वीकृति पाएको स्पष्ट पार्दै उनले केही मानिसहरूले भने खाेप लगाउन नहुने बताए ।

रोगविरुद्ध लड्ने शक्ति कम भएका, विभिन्न औषधि सेवन गरिरहेका, एलर्जीको समस्या भएका, गर्भवती, दुध खुवाउँदै गरेका आमाहरुले यो खोप लगाउन नहुने उनकाे भनाइ छ । उनका अनुसार यस्ता व्यक्तिहरूले काेभिडविरूद्धकाे खाेप लगाए स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने हुँदा यी कुराहरू ख्याल गरेर खाेप लगाउनुपर्छ ।

७७ जिल्लामा ३ सय खाेप केन्द्र

सरकारले खाेप आउनुअघि नै खाेपका लागि जनशक्ति परिचालनदेखि लिएर सम्पूर्ण तयारी पुर भइसकेकाे यसअघि नै जानकारी दिइसकेकाे छ । खाेपकाे तापक्रम व्यवस्थापनदेखि लिएर खाेप केन्द्र समेत बनाइएकाे प्रवक्ता गाैतमले जानकारी दिए । उनका अनुसार जिल्लाका सदरमुकाम र जहाँ धेरै स्वास्थ्य संस्था छन् त्यहाँबाट खाेप लगाइनेछ । खाेप वितरणका लागि करिब ३ सय खाेप केन्द्र हुनेछन् ।

खोप लगाउन ३ सय खोप केन्द्रमा १५ सय जना र खोप तथा खोप केन्द्रको व्यवस्थापन लगायत अन्य व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिने प्रवक्ता गाैतमले बताए ।

खाेप खरिदकाे अनुमानित बजेट

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गाैमतका अनुसार दाेस्राे चरणकाे खोप खरिद प्रक्रियामा जाँदैछ, तयारी भइरहेकाे छ । अर्को लटको खोप भारतबाटै खरिद गरिन्छ या अन्य देशबाट गरिन्छ, यो यकिनका साथ भन्न नसकिने उनले बताए । खाेप खरिदका लागि स्वास्थ्य मन्त्रालयले चारवटा मापदण्ड निर्धारण गरेकाे पनि उनले जानकारी दिए ।

‘खाेप खरिदकाे सम्भावना त भारतकै अलि धेरै छ । यसकाे मतलब अन्य देशबाट खोप ल्याउँदै नल्याउने भन्ने होइन,’ प्रवक्ता गाैमले भने, ‘खरिदका लागि हाम्राे चारवटा मापदण्ड छन्, ती पुरा भएमा खाेप जुनसुकै देशबाट पनि खरिद गर्न सकिन्छ ।’

खरिद गरिने खाेप डब्लुएचओको मान्यता तथा स्वीकृति प्राप्त हुनुपर्ने, आवश्यकता अनुसारको पर्याप्त डोज दिनुपर्ने, खोप २ देखि ८ डिग्री अथवा माइनस २० डिग्री तापक्रममा स्टोर हुने क्षमताकाे हुनुपर्ने र समयमै उपलब्ध हुनुपर्ने उनले बताए ।

खाेप खरिदका लागि बजेट भने अहिले नै छुट्याइएको छैन । ‘अर्थ मन्त्रालयले खोप खरिदका लागि आवश्यक बजेट दिन्छौँ भनेकाे छ । यही हाम्रो लागि काफी छ’, प्रवक्ता गाैतमले मकालु खबरसँग भने, ‘बजेट कति भन्ने कुरा खोप कति पाइन्छ, कति मूल्य पर्छ त्यसमा निर्भर हुन्छ । अहिले नै यति बजेट भन्न सकिँदैन । यद्यपी तोकिएको जनसंख्या (७२ प्रतिशत) लाई खोप उपलब्ध गराउन करिब ४८ देखि ५० अर्ब बजेट आवश्यक पर्न सक्ने हामीले अनुमान गरेका छौँ ।’

अर्को कुरा यही आर्थिक वर्षमा सबैजनालाई खोप लगाइसक्ने सम्भावना देखिँदैन, विभिन्न किनकी खोपहरु बन्दैछन् । कति खोप परीक्षणका क्रममा छन् भने कति खोपले मानिसमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । त्यसैले उक्त अनुमानित रकम एक पटककाे खरिदमा खर्च हुने नभइ खोपका लागि कुल अनुमानित रकम भएकाे डा. गाैतमले बताए ।

सर्वसाधारणको पहुँचमा कहिलेबाट पुग्छ खोप ?

‘जहिले पर्याप्त उपलब्ध हुन्छ, त्यहीबेला नै सर्वसाधारणको पहुँचमा खाेप पुर्याउन सकिन्छ । पहिले त खोप पाउनुपर्यो, त्यसपछि मात्रै सबै जनसंख्यामा पहुँच पुर्याउन सम्भव हुन्छ’, उनले भने ।

काेभिडविरूद्धकाे खाेप नागरिकलाई निःशुल्क उपलब्ध गराउने सरकारकाे तयारी रहेकाे उनले जानकारी दिए । उनका अनुसार दाेस्राे लटकाे खाेप आएपछि नागरिकको गाउँ-गाउँमा भएका खोपका बुथमा गएर लगाउने व्यवस्था मिलाइने छ ।

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप ‘काेभिशिल्ड’ हिजाे (बिहीबार) काठमाडौं आइपुगेको हाे ।

अनुदानमा आएको १० लाख डोज खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएकाे छ । मन्त्रालयका अनुसार विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइ खोप त्यहीँबाट खोप वितरण हुनेछ ।

प्रतिक्रिया