विरोधसभाका लागि सडकमै मञ्च, सवारी साधन डाइभर्ट

काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड-माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर सो समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विरोधसभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-कुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।

यदिमात्रै होइन प्रचण्ड-माधव समूहले उपत्यकाका तीन जिल्ला तथा वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेपछि अहिले संघीय राजधानीको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेको छ । रत्नपार्क-सिंहदरबार खण्ड र पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको ट्राफिक प्रवक्ता एसपी श्यामकृण अधिकारीले जानकारी दिए । उनका अनुसार माइतीघर-थापाथली हुँदै केशरमहल तथा केशरमहल-दरबारमार्ग हुँदै पुतलीसडकसम्म साना सवारीलाई प्रवेश दिइएको छ ।उपत्यकाका ९ स्थानबाट जुलुस सुरु हुने भएपछि सबै क्षेत्रको यातायात प्रभावित भएको उनको भनाई छ । ‘जुलुस सुरुहुने सबै सडकमा ठूला तथा सार्वजनिक सवारीलाई प्रवेश दिएका छैनौँ,’ प्रवक्ता अधिकारीले भने, ‘रिङ रोडभित्र ठूला सवारीलाई प्रवेश दिनसक्ने अवस्था छैन ।’

संसद विघटनको विरोधमा हिजोआज दिनहुँजसो विरोध प्रदर्शन हुँदै आएको छ । विरोध कार्यक्रमका कारण राजधानीका सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । मुख्य सडकबाट सवारीसाधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमासमेत चाप बढेको छ। जसका कारण यात्रुलाई सास्ती भएको छ भने सवारी आवागमन प्रभावित बनेको छ । यी ९ ठाउँबाट सुरु हुँदैछ जुलुस
प्रचण्ड-माधव समूहले काठमाडौं र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निकाल्दैछ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजलगायतका स्थानबाट जुलुस निस्किने छन् ।

ती स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड-माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया