६८ खेलपछि घरेलु मैदानमा लिभरपुलको हार

काठमाडौँ । इङिलस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ । लिभरपुलले घरेलु मैदानमा बर्नलीसँग १-० को हार व्यहोरेको हो ।

बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । आफ्नो घरेलु मैदानमा लिभरपुल २०१७ को अप्रिलपछि पहिलो पटक हार बेहोरेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ६८ खेलपछि हार बेहोरेको हो ।

यो हारपछि लिभरपुल शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडि परेको छ । यस सिजनमा तेस्रो हार बेहोरेको लिभरपुलका लागि यो हारले लगातार दोस्रो सिजन प्रिमियर लिग जित्ने अभियानमा धक्का लागेको छ ।

लिभरपुलको १९ खेलमा ३४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने १८ खेलमा १९ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ । –एजेन्सी

प्रतिक्रिया