मिडियामाथि ओलीको आक्रोश : ‘हामी तिमीवाला भयौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुको सम्पादकीय नीतिको आलोचना गरेका छन् । ओलीले सञ्चारमाध्यमहरुले ‘तिमी’ भनेर गरेको सम्बोधनको आलोचना गरेका हुन् । आफ्नो मुल्य, मान्यता र प्रचलनलाई बिर्सेको औंल्याउँदै ओलीले नेपाली सञ्चारमाध्यमहरु ‘यू’ वाला भएको बताए ।

बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले खासगरी सञ्चारमाध्यमको ‘तिमी’ जोडिएको सम्पादकीय नीतिको आलोचना गरेका हुन् ।

हरेक देशलाई त्यहाँको रहनसहनदेखि सांस्कृतिक मुल्य मान्यताहरुले बाँधेको बताएका ओलीले भनेका छन्, ‘हरेक देशलाई आ–आफ्नो मुल्य, मान्यता र प्रचलनले बाँधेको हुन्छ । हामी तपाईँ बिर्सेर तिमीतिर लाग्यौँ । हामी हजुरबुबा, हजुरमाआ, काका, मामालाई पनि तिमी नै भन्छौँ । आफूभन्दा ठूला र अग्रजलाई सम्मान गर्नैपर्छ ।’

शुरुमा बीबीसीले ‘यू’ लेख्ने गरेको र त्यसको नेपाली अुनवादका रुपमा ‘तिमी’ भित्रिएको दृष्टान्त सुनाउँदै ओलीले नेपाली सञ्चार जगतले पनि त्यसैलाई प्राथमिकतामा राखेको बताए । ‘हामी हेल्लो मम् हाउ आर् यू भनेर बोल्छौँ । हाम्रो बोलाइ यस्तो होइन’, ओलीले भनेका छन्, ‘हामी शिष्टतापूर्वक बोल्नुपर्छ । हाम्रो सभ्यतालाई बचाउनैपर्छ ।’

तँ, तिमी, तपाईँ, हजुरलगायतका भाषाहरु पूर्वजहरुले बनाएको नेपाली भाषीहरुको सम्पति भएको बताउँदै ओलीले भनेका छन्, ‘एउटा कुरामा हामी होसियार हुनुपर्दछ । हरेक देशको आफ्नो मूल्य मान्यता र प्रचलन हुन्छ । त्यसले हरेक देशलाई बाँधेको हुन्छ । नाता–सम्बन्धका कुराहरुले बाँधेका हुन्छन् । त्यसलाई लिएर भेदभाव गर्नुस् भनेको होइन । पूर्वजहरुले महान् काम गरेका छन् । हामीले त्यसबाट सिकौँ ।’

यस्तै ओलीले सञ्चारकर्मीहरुमा देशभक्त कमी हुनु नहुने बताए । उनले भनेका छन्, ‘सञ्चारकर्मीमा देशभक्त किञ्चित कमी हुनु हुँदैन ।’ यसअघि पनि ओलीले सयौं पटक सञ्चारमाध्यमहरुको सम्पादकीय नीतिबारे प्रश्न उठाइसकेका छन् ।

माथिल्लो पदस्थ व्यक्तिहरुलाई ‘तपाईँ’ सम्बोधन गर्नुपर्ने भन्दै नेपाली सञ्चारमाध्यममाथि खनिँदै आएका ओलीले पुनः घमाउरो पारामा सञ्चारमाध्यमको आलोचना गरेका हुन् । केही दिन अगाडि आफ्नो समूहको प्रदर्शनको तस्वीर सञ्चारमाध्यममा नछापिएको भन्दै भाषणमार्फत् असन्तुष्टि पोखेका ओलीले पुनः सञ्चारमाध्यमहरुका सम्पादकीय नीतिको आलोचना गरेका हुन् ।

प्रतिक्रिया